तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना नियन्त्रण सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले कोरोना नियन्त्रण सरकारको पहिलो प्राथमिकता भएकाले सरकारको सम्पूर्ण प्रयास कोरोना भाइरसमुक्त मुलुक बनाउनु रहेकोमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले सङ्घीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा सांसदहरुबाट प्राप्त सुझावहरुप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले औचित्य र प्राथमिकताका आधारमा सकारात्मक सुझावहरु बजेटमा समाबेश गरिने जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा भएको छलफलका क्रममा उठेका प्रश्नहरुको आज जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले कोरोनाका कारण मुलुक असहज र असामान्य अवस्थामा रहेको र मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो ।

उहाँले, कोरोनाले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेपनि सरकार अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेतर्फ अघि बढ्ने प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले कोरोनाबाट हतोत्साही र निराश नहुन तथा यससँग लड्दै समाजिक जनजीवन अघि बढाउन आग्रह गर्नुहुँदै कोरोनाविरुद्धको सरकारको प्रयासमा सिङ्गो राष्ट्र एक हुनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले भारतबाट सङ्क्रमित भएर आउनेको सङ्ख्या ठूलो भएकाले अवस्था गम्भीर हुँदै गएको भन्नुहुँदै त्यसप्रति सजगता अपनाउनु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले नेपालको नयाँ राजनीतिक नक्सा तयार गरेसँगै यसले नेपालको मानचित्रमा परिवर्तन आएको उल्लेख गर्नुहुँदै भारतसँग कूटनीतिक वार्ताका माध्यमबाट भूमी फिर्ता गराउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नुहुँदै मन्त्रिपरिषद्को बैठकले पास गरेको नेपालको नयाँ नक्सा अनुसार सरकारी छाप, निशान र पाठ्यक्रम लगायतमा परिवर्तन हुने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मानव जीवनका सम्पूर्ण पक्षमा ध्यान दिएर लोककल्याणकारी अवधारणा अनुसार सामाजिक न्याय र समानता सहितको उपलब्धीमा सबैको पहुँच भएको लोकतन्त्रलाई परिपूर्ण लोकतन्त्र भनेर नीति कार्यक्रममा ल्याएको उल्लेख गर्नुभयो ।

उहाँले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पुरा गर्ने गरी सामाजिक न्याय र समानता सहितको शान्त, सुन्दर र सबैको अधिकार पुरा भएको समाजको परिकल्पना गरेर सरकार अगाडी बढेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार जनादेशबाट आएको आएकाले जनादेशलाई कदर गर्ने भन्दै जनताले बनाएको सरकारलाई कुनै पनि शक्ति र देशले ढाल्ने कल्पना नगर्न चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोनाबाट हतोत्साही र निराश नहुन तथा यससँग लड्दै समाजिक जनजीवन अघि बढाउन आग्रह गर्नुहुँदै कोरोनाविरुद्धको सरकारको प्रयासमा सिङ्गो राष्ट्र एक हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा कुनै पनि तानाशाहको उदय नहुने र कुनै तानाशाह फर्किएर आउन नसक्ने भन्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल लोकतन्त्रबाट पछाडी नहट्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारको छानवीन गर्न थालेपछि केसहरु देखिन थालेको उल्लेख गर्नुहुँदै भ्रष्टाचारलाई नियन्त्रण गर्न प्रभावकारी कदम अगाडी बढाएको बताउनुभयो ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) पास गर्ने कि नगर्ने संसदको विषय भएको स्पष्ट गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस विषयमा छलफल गर्न सकिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रियता, लोकतन्त्र, उत्पादन बृद्धि तथा विकास निर्माणलाई जोड दिएर सरकारले काम गरिरहेको र गल्ति गरेको छु भन्नु पर्ने गरी कुनै काम नगरेको समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले काममा स्वस्थ प्रतिष्पर्धा गर्न सवै पक्षलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button