तपाईँ सुन्दै हुनुहुन्छः

मृगको अवैध सिकार, विद्यालय तोडफोडमा संलग्न चार पक्राउ


बलेवा –
चोरी सिकारीमा संलग्न भएको र विद्यालय तोडफोड गरेका छुट्टाछुट्टटै घटनामा संलग्न चार जना पक्राउ परेका छन् ।

प्रहरीले जिल्लाको ताराखोला गाउँपालिका–३ बाट विद्यालय तोडफोड गर्ने पूर्वशिक्षकसहित दुई र गलकोट नगरपालिका–४ बाट मृग मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो ।

स्थानीय जङ्गलमा संरक्षित मृग मारेर खाँदै गरेको अवस्थामा गलकोट नगरपालिका–४ का ५९ वर्षीय बेलराम सुवेदी र सोही ठाउँका ३० वर्षीय ओमबहादर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट मृगको पकाएको मासु, काँचो मासु र हड्डीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले बताउनुभयो । सुराकीको आधारमा हटिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सुवेदी र खड्कालाई नियन्त्रणमा लिएको थियो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र कानूनबमोजिम कारवाहीका लागि मुद्दा चलाइने केसीले बताउनुभयो । लकडाउनको समयमा संरक्षित जङ्गली जनावरको सिकार गर्नेहरु सक्रिय भएको प्रहरीले जनाएको छ ।

उता विद्यालय तोडफोड गरेको आरोपमा जिल्लाको ताराखोला गाउँपालिका–३ मा रहेको काँक्राखोर आधारभूत विद्यालयका पूर्वशिक्षकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

विद्यालयमा तोडफोड गरी महत्वपूर्ण कागजात हिनामिना गरेको आरोपमा सोही ठाउँका पूर्वशिक्षक रेशम खत्री र तिलक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लकडाउनका कारण बन्द रहेको विद्यालयमा गाउँपालिकाबाट अनुगमनमा पुगेको टोलीले ढोका तोडफोड गरेको देखेपछि घटना बाहिर आएको थियो ।

विद्यालयको जाहेरीका आधारमा अनुसन्धानमा खटिएको प्रहरीले महत्वपूर्ण कागजातसहित उनीहरुलाई नियन्त्रणमा लिएको ताराखोला प्रहरी चौकीका प्रमुख युवराज सलामीले जानकारी दिनुभयो ।

पूर्वशिक्षक कार्कीको घरमा खानतलासी गर्दा प्रहरीले विद्यालयका महत्वपूर्ण कागजात फेला पारेको थियो । स्थानीयले यही जेठ ३ गते उनीहरु गाउँ घुमिरहेको देखेको भनेपछि प्रहरीले उनको घर पुगेर खानतलासी गरेको उहाँले बताउनुभयो ।

कार्यालय भवनमा रहेका टेबलमाथि चाउचाउ पोखिएको, दराजको साँचो फोरिएको, कार्यालय सञ्चालन गर्न आवश्यक कागजपत्र सबै निकालेको पाइएपछि घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरीले नियन्त्रणमा लिएका दुवै जनालाई इलाका प्रहरी कार्यालय हरिचौर पठाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको सलामीले जानकारी दिनुभयो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारवाहीका लागि विद्यालय व्यवस्थापन समितिले प्रहरीलाई आग्रह गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button