तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना प्रभाव : झापामा पसल खोल्न जोर बिजोर प्रणाली

भद्रपुर, झापा । सबैखाले पसल खोल्दा भीडभाड बढेपछि झापामा अब खोल्नका लागि जोर बिजोर प्रणाली लागु गरिएको छ ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको उपस्थितिमा हिजो सम्पन्न जिल्ला कोरोना सङ्क्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको पूर्ण बैठकले जोर बिजोर प्रणाली लागु गरेको हो ।

बैठकले जोर गतेका दिन खाद्यान्न पसल र बिजोर गतेका दिन गैर खाद्यान्न पसल खोल्न दिने निर्णय गरेको छ ।

कृषि र औषधि पसल भने नियमित सञ्चालन गर्न पाइने निर्णय गरेको समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।

पसलहरु खोल्ने समय भने यसअघि जस्तै विहान ८ बजेदेखि १२ वजेसम्मको समय तय भएको छ ।

झापाका १५ वटै स्थानीय तहमा रहेका बंैक तथा वित्तीय संस्था आधा आधा गरी दिन बिराएर सञ्चालन गर्न पालिकाले व्यवस्था गर्ने निर्णय भएको छ भने खाद्यान्न ढुवानीमा पास नचाहिने र निर्माण सामग्री ढुवानीमा स्थानीय तहले पास जारी गर्ने व्यवस्था गरिएको छ । सरकारी कर्मचारीलाई कार्यालय जान आउन पास नचाहिने बैठकले निर्णय गरेको छ ।

बैठकमा प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सबै पालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका जिल्लास्तरीय नेताहरु र नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button