तपाईँ सुन्दै हुनुहुन्छः

बिद्युत प्राधिकरण वीरगन्जद्वारा महसुल सङ्कलन सुरु

बीरगंज । नेपाल विद्युत् प्राधिकरण वीरञ्ज वितरण केन्द्रले लामो समयको लकडाउनसँगै सामाजिक दुरी कायम गरी विद्युत महसुल संकलन शुरु गरेको छ ।

प्राधिकरणको बीरगंज वितरण केन्द्रले लकडाउनपछि काउन्टर सञ्चालनमा आएसँगै आजसम्म १३ करोड ८७ लाख नौ हजार पाँच सय महसुल असुली गरेको विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख शम्भुराय कुसियतले जानकारी दिनुभयो ।

लकडाउनले गर्दा शुरूमा कार्यालय बन्द हुँदा मिटर रिडिङदेखि महसूल सङ्कलन कार्य समेत रोकिएकोमा गत बुधवारदेखि उच्च सतर्कता अपनाएर महसूल सङ्कलन कार्य भइरहेको वितरण केन्द्रका प्रमुख कुसियतले बताउनुभयो ।

उहाँले प्राधिकरणले गत बुधवारदेखि विद्युत महसुल संकलनको लागि काउन्टर खुला गरेको र आजसम्म काउन्टरहरुबाट १३ करोड ८७ लाखभन्दा बढी राजस्व संकलन भएको बताउनुभयो ।

प्राधिकरणले अनलाइन माध्यमबाट समेत विद्युत् महसूल बुझाउन सकिने जनाएको छ ।

आ–आफ्नो बैंकिङ च्यानलमा रहेका विद्युतीय वालेट, इ–सेवा, खल्ती, आइएमइ–पे, फोन–पे लगायत विद्युतीय सेवाबाट विद्युत् महसूल बुझाउन सकिने प्राधिकरणले जनाएको छ ।

त्यसैगरी विद्युत् प्राधिकरणले चैत ११ गतेदेखि मिटर रिडिङ नभएको हुँदा फागुन महिनाकै खर्च युनिटको आधारमा चैत र बैशाखको भुक्तानी लिने योजना बनाएको छ ।

प्राधिकरणले शुक्रबारदेखि औद्योगिक क्षेत्रको मिटर रिडिङ शुरू गरिसकेको छ भने जेठ १ गतेदेखि सर्वसाधारण उपभोक्ताहरूको मिटर रिडिङ शुरू गर्ने केन्द्र प्रमुख कुसियतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button