तपाईँ सुन्दै हुनुहुन्छः

३५ दिनदेखि उपचाररत महिला अस्पतालबाट डिस्चार्ज

कञ्चनपुर । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित सुदूरपश्चिम प्रदेशका पाँचै जना निको भएपछि सुदूरपश्चिम प्रदेश कोरोना मुक्त भएको छ ।

कोरोना भाइरसबाट संक्रमित सुदूरपश्चिमका पाँच जना मध्ये कैलालीको धनगढीकी एक जना महिलाको समेत पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार उहाँलाई घर पठाइएको छ । ३५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ५ की ३४ वर्षीया महिलाको सातौँ र आठौँ पटक गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना भाइरस नेगेटिभ देखिएकोले डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

यसअघि सेती प्रादेशिक अस्पतालले कैलालीको लम्कीचुहा नगरपालिकाकी ५० वर्षीया महिला, कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष, कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय पुरुषलाई उपचारपछि डिस्चार्ज गरेको थियो ।

सुदुरपश्चिम प्रदेशमा संक्रमित देखिएका पाँचै जना निको भएपछि नागरिक स्तरमा केही त्रास कम भएको छ । यद्यपी कोरोना भाइरसको परीक्षणका लागि प्रयोग गरिने किटको अभावले जाँचपड्तालको कार्यले तीब्रता पाउन सकिरहेको छैन । सर्वसाधारणले भने परीक्षणको दायरा बढाई प्रवासमा रहेका नेपाली नागरिकको उद्धार गर्न समेत सरकार संग माग राखेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button