तपाईँ सुन्दै हुनुहुन्छः

कोलकाता र हल्दियामा ११ हजार कन्टेनर अलपत्र

वीरगञ्ज । लकडाउनको कारण अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा यता मुलुकको प्रमुख नाका वीरगञ्ज स्थित सुख्खा बन्दरगाहमा थेग्नै नसक्ने गरी सामान अर्बौको सामान थुप्रिएको छ ।

ड्राइपोर्ट सञ्चालन गर्ने हिमालयन टर्मिनल प्रालिले नेपाल आएका कन्टेनरहरु समेत व्यवसायीहरुले भन्सार जाँचपास गरी नलैजाँदा समस्या भएको जनाएको छ ।

वीरगञ्ज सुख्खाबन्दरगाहमा अहिले ४ हजार २ सय भन्दा बढी कन्टेनर थुप्रिएका छन् भने बोराबन्द सामानको गोदाममा करीब १० हजार टन मालवस्तुहरु थुप्रिएको बन्दरगाहले जनाएको छ ।

त्यसैगरी, फलामजन्य कच्चा पदार्थ ५० हजार टन भन्सारमै होल्ड भएको छ । हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले सामान उठाउने र भण्डार गर्ने चारवटा रिच स्टे«कर बन्दरगाहमा भए पनि दुईवटा बिग्रेकोले समस्या भएको जानकारी दिनुभयो ।

यता नेपालका लागि भारतको कोलकाता बन्दरगाहसम्म आइपुगेका कण्टेनर लकडाउनका कारण कोलकाता र हल्दिया बन्दरगाहमा गरी ११ हजार भन्दा बढी संख्यामा त्यहीँ अड्किएका छन् ।

लकडाउनले सडकमार्गबाट ढुवानी अवरुद्ध भएपछि कोलकाता र हल्दिया बन्दरगाहमा कण्टेनर थुप्रिएका हुन् । सुख्खा बन्दरगाहमा सामान थुप्रिदै गएपछि सामान राख्न समेत समस्या बढदै गएको छ ।

भारतमा डेढ महिनादेखि जारी लकडाउनले बन्दरगाहमा तेश्रो मुलुकबाट मगाईएको सामान थुप्रिन पुगेको र त्यसलाई व्यवस्थापन गर्न अहिले व्यवसायीहरु समेत धौ–धौ भएको छ ।

दैनिक आपूर्तिका सामान बाहेक अन्य सामानहरुको आयातमा कडाई भएको कारण समेत समस्या उत्पन्न भएको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button