तपाईँ सुन्दै हुनुहुन्छः

घर हिँडेहरु धादिङ र चितवनको सिमानामा

धादिङ-कोरोना भाइरस माहामारी रोक्न सरकारले गरेको लकडाउनपछि घर हिँडेका मजदुर धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएका छन् । कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदुर काम गर्न नपाइने र खानेकुरा सकिएपछि उनीहरु हिँडेर घर जान लागेका थिए ।

उनीहरुलाई चितवन प्रहरीले धादिङको सिमाना क्षेत्रमा रोकेकामा केहीलाई ट्रकमा चढाएर पठाइएको छ भने केहीलाई पठाउने व्यवस्था हुँदैछ । बिहीबार बिहानैदेखि प्रहरीले छेकेपछि दिउँसोसम्म ३०० भन्दा बढी मजदुर रोकिएको र उनीहरु खानेकुरा नपाएर दिनभर सो क्षेत्रमा भोकभोकै परेको स्थानीयवासी विनोद शाहले जानाकारी दिनुभयो ।

मजदुर रोकिएपछि मौवाखोला बजारवासीले समेत प्रहरीलाई उनीहरुलाई हिँडेर घर जान दिन आग्रह गरेका थिए । बजारवासीको आग्रहसमेत अस्वीकार गरी प्रहरीले चितवन क्षेत्र प्रवेश गर्न नदिएपछि विवाद भएको थियो । घटनाले उग्ररुप लिने भएपछि धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङ र चितवनका प्रमुख जिल्ला अधिकारी नारायाणप्रसाद भट्टराईबीच वार्ता भएको थियो ।

वार्तापछि मजदुरलाई खाद्यान्न बोक्ने सवारी साधनमा राखेर घरतर्फ जान दिने सहमति भए पनि पूर्ण लागू भएको छैन । धादिङको विभिन्न इँटा उद्योग, विद्यालय निर्माणलगायत काम गर्ने र गाउँमा पुनःनिर्माणका लागि आएका मजदुर घरतर्फ जान लागेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button