तपाईँ सुन्दै हुनुहुन्छः

संविधानको सफल कार्यान्वयनबाट सङ्घीयता स्थापित हुन्छ  :मन्त्री त्रिपाठी

काठमाडौँ  । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले संविधानको सफल कार्यान्वयनबाट सङ्घीयता स्थापित हुने बताउनुभएको छ ।

शमी साहित्य प्रतिष्ठानद्वारा आज काठमाडौं आयोजित अन्तक्र्रिया तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री त्रिपाठीले नेपालको संविधान अन्य मुलुकको तुलनामा बिशिष्ट र मौलिक भएकाले यसको कार्यान्वयनको विकल्प नभएको बताउनुभयो ।

मन्त्री त्रिपाठीले केन्द्र, प्रदेश र स्थानीय तहका आफ्नै अधिकार रहेको र समावेशिताका हिसाबले मौलिक रहेको नेपालको संघीयता विश्वकै नमुना भएको बताउनुभयो ।

कार्यक्रममा डा. डम्बर चेम्जोङले ‘सङ्घीययताको कार्यान्वयनमा बौद्धिक वर्गको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै विद्यमान सङ्घीयता केन्द्रीयताकै अर्काे रुप भएको बताउनुभयो ।

कार्यक्रममा ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ दामोदार पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘शहरबिनाको शहर’ र अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’ कृतिलाई संयुक्तरुपमा प्रदान गरिएको थियो । पुरस्कारको राशी एक लाख ११ हजार एक सय ११ रुपैया रहेको छ ।

पुरस्कारका लागि विसं २०७५ मा प्रकाशित भएकामध्ये प्रतिष्ठानलाई प्राप्त ८४ कृतिमध्येबाट उत्कृष्ट पाँच हुँदै छनोट गरी ती दुई कृति पुरस्कृत गरिने भएको हो ।

स्तरीयता, मौलिकता, विधागतस्वरुप र राष्ट्रियता आदि आधारमा ती कृति छानिएको प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपाल बताउनुभयो ।

प्रतिष्ठानका संरक्षक एवं निबन्धकार डोलिन्द्रप्रसाद शर्माको निबन्ध सङ्ग्रह ‘बादलभित्रको घाम’ पुस्तकको बिक्रीबाट प्राप्त रकम अक्षयकोषमा राखी यसै वर्षदेखि उक्त पुरस्कार स्थापना गरिएको हो ।

पुडासैनीको कृतिमा मधेश तराई गाथा र अर्यालको कृतिमा नारीवादी तर आत्मिक प्रेम वर्णन भएको जनाइएको छ ।

‘बादलभित्रको घाम’ पहिलो संस्करणमै १३ हजारप्रति र पुनः मुद्रण गरी २५ हजारप्रति प्रकाशन भएको थियो ।

पुरस्कारको अक्षयकोषमा रु ५० लाखसम्म जम्मा गर्ने लक्ष्यानुसार हालसम्म सो पुस्तक बिक्रीबाट रु १७ लाख हस्तान्तरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button