तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा एक दर्जन बढी छाउगोठ भत्काईयो

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान चलिरहँदा डडेल्धुराको भित्री मधेसमा पर्ने आलिताल गाउँपालिकामा एक दर्जन बढी छाउगोठ भत्काईएका छन ।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक जनकबहादुर मल्लको नेतृत्वमा गएको प्रहरी टोलीले आलिताल गाँउपालिका–६ धिमडाका दुई दर्जन घरपरिवारले प्रयोगमा ल्याएका ११ वटा छाउगोठ भत्काएको हो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत स्थानीय तथा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रहोवरमा उक्त छाउगोठहरु भत्काइएका हुन ।

छाउगोठ भत्काउने सो अभियानमा गाँउपालिका उपाध्यक्ष जलादेबी बोगटी, वडा नम्बर ६ का वडाध्यक्ष कुम्भ बुढा र सुरक्षाकर्मीहरुको सहभागीता रहेको थियो ।

छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउछ भन्ने अन्ध विश्वासका साथ महिनावारी अर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने यस क्षेत्रको चलन रहेको स्थानीय समाजसेवी दलबहादुर कार्कीे बताउछन् ।

गाउँपालिकामा छाउपडी प्रथा अन्त्य गर्न तथा छाउगोठ भत्काउन प्रत्येक वडामा छाउपडीसम्बन्धी जनचेतना जगाउने काम भइरहेको गाँउपालिका उपाध्यक्ष जलादेबी बोगटीले जानकारी दिनुभयो ।

मुलुकी अपराध संहितामा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र रु तीन हजारसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरी निरिक्षक जनक मल्लको भनाई रहेको छ ।

गृहमन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन गरि खटाइएको डडेल्धुरा प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button