तपाईँ सुन्दै हुनुहुन्छः

रु १० मा पेटभरि बासमती चामलको भात खुवाउने अभियान शुरु

विराटनगर-विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने कार्य भइरहेको धाडेवालले बताउनुभयो । बासमती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको छ ।

एक मानिसले खाना खाँदा रु १० तिर्नुपर्ने र घरका लागि खाना लैजाँदा रु २० तिर्नुपर्ने हुन्छ । कसैले भिखारी वा गरिब मानिसलाई खाना खुवाउन चाहेमा उसले जनही रु ३० तिर्नुपर्ने नियम बनाइएको छ । अभियान शुरु भएको आज १० दिन भएको भन्दै धाडेवालले दैनिक ७०० देखि एक हजार जनासम्मले खाना खाने गरेको बताउनुभयो । क्याटरिङ सहयोगी तिरुपति क्याटरिङमार्फत खाना खुवाउने अभियान स्थानीय नन्दु तपडिया, युवा उमेश यादव र मोहम्मद कादिरले पनि सहयोग गरिरहनुभएको छ ।

वर्षमा ३६५ दिनका लागि ३६५ जना नै सहयोग गर्न तयार छन् अब कसैले सहयोग गर्न चाहेमा अर्को वर्षका लागि ती मानिसको नाम दर्ता हुनेछ र सोहीअनुसार अभियानलाई कायम राखिने छ”, उहाँले भन्नुभयो । सस्तोमा खाना खुवाउन शुरु गरेपछि विपन्न मानिस मात्र होइन सम्पन्न मानिसले पनि खाना खाने गरेको र कसैले आफूले खाएको तोकिएको रकमभन्दा बढी दिन खोजेमा सहयोगी पेटिकामा राख्ने गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button