तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न बेलौरी नगरपालिकाद्वारा बृहत् छलफल

कञ्चनपुर  । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र नगर भित्र पर्यटक भित्र्याउन कञ्चनपुरको बेलौरी नगरपालिकाले बृहत् रूपमा छलफल गरिरहेको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार नगर भित्रका विभिन्न पर्यटकीय स्थलहरूको पहिचान गरी त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने नगरपालिकाको लक्ष्य रहेको छ ।
गतवर्ष संघीय सरकारले घोषणा गरेका एक सय नयाँ पर्यटकीय गन्तव्य स्थलमा परेको बन्धातालसहित अन्य तालतलैया, मठमन्दिर, बनजंगल तथा अन्य एतिहासिक स्थलहरूसम्म पुग्ने सडक सञ्जाल मर्मत गरी ती क्षेत्रको स्तरोन्नति र प्रचारप्रसार गर्ने काम भइरहेको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सबैको सहयोग आवश्यक रहेकोमा नगर उपप्रमुख चित्र कुमारी चौधरीले जोड दिनुभयो । घुम्न आएका पर्यटकहरू संग उक्त क्षेत्रका नागरिकले गर्ने व्यवहारले प्रभाव पार्ने उपप्रमुख चौधरीले बताउनुभयो । त्यसका लागि सभ्य समाज निर्माणका लागि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।
गत मंसिर २९ गते बसेको बेलौरी नगर कार्यपालिकाको बैठकले नगर प्रवक्ता विनोद नेपालीको संयोजकत्वमा १३ सदस्यीय नगर स्तरीय मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको थियोे ।
नगरपालिकामा गठित समितिले विभिन्न पक्ष संग छलफल जारी राखेको समितिका संयोजक एवं नगर प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभयो । आइतबार उक्त समितिले नगरपालिकाका प्रमुख र उपप्रमुखको उपस्थितिमा  पत्रकारहरूसंग छलफल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button