तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले बिश्वासको मत लिनैपर्ने बाध्यात्मक अवस्था छैन् : मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था नरहेको बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा पत्रकारको एक प्रश्नको जवाफमा मन्त्री बाँस्कोटाले समाजवादी पार्टीले केपि शर्मा ओली संसदबाट प्रधानमन्त्री निर्वाचित भईसकेपछि मात्रै सरकारलाई समर्थन गरी सरकारमा सहभागी भएको हुनाले अहिले बिश्वासको मत लिनुपर्ने बाध्यता नरहेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दलको संसदमा स्पष्ट बहुमत कायम रहेको हुनाले समेत विश्वासको मत लिनुको कुनै अर्थ नरहने बिचार व्यक्त गर्नुभयो ।

मन्त्री बाँस्कोटाले विश्वासको मत लिनैपर्ने बाध्यात्मक कानुनी व्यवस्था भए त्यसका लागि भने आफुहरू तयार रहेको समेत स्पष्ट पार्नुभयो ।

एक अर्को प्रश्नमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले नेपाल ट्रष्टको सम्पत्ति लिजमा दिने क्रममा प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गरिएको र सबै निर्णयहरू पारदर्शी रहेको समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button