तपाईँ सुन्दै हुनुहुन्छः

‘क्रिसमस डे’मा उपराष्ट्रपतिको शुभकामना

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र भएको उल्लेख गर्नुभएको छ । संविधानले सबै प्रकारका धर्म संंस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण एवं सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको भन्दै उहाँले कसैलाई करकाप वा प्रलोभनमा पारी धर्म परिवर्तन गर्न वा गराउन नपाइने सन्देशमा उल्लेख छ ।

विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको बताइएको छ । विभिन्न धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम हुँदै आएको र यस पर्वले सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउने सन्देशमा उल्लेख छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने गरी प्रगति पथमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button