२०७९ साल साउन २३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

ठूलो परिणाममा नक्कली घ्युसहित तीन पक्राउ

ध्रुव अधिकारी २०७६ पुष ७ गते १५:५०


बीरगंज ।
  बीरगन्ज महानगरपालिका वडा नं. १२ ब्रम्हचोकमा रहेको श्री सिद्धि विनायक पुजा सामाग्री उत्पादन उद्योगमा प्रहरीले छापामारी ठूलो परिणाममा रहेको नक्कली घ्युसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आज आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले गोकुल, पुजा र दुर्गा शुद्ध डेरी घ्यूको नामले नक्कली घ्यू उत्पादन गरेको आरोपमा बीरगंज महानगरपालिका वडा नम्बर १५ बस्ने ३३ बर्षिय अनिल श्रेष्ठ, ३७ बर्षिय रमेश श्रेष्ठ र भारत मोतिहारी पूर्वी चम्पारण आदापुर बस्ने २५ बर्षिय राम बिलास यादवलाई पक्राउ गरिएको बताउनुभयो ।

पुजा र खानका लागि उत्पादन गरिने शुद्ध घ्यूमा अखाद्य बस्तु मिलाई रहेको भन्ने सूचना प्राप्त भए पछि प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा गएको टोलीले उद्योगमा हिजो साँझ छापामारी गरेको थियो ।

घटनास्थलबाट प्रहरीले पुजा, दुर्गा र गोकुल ब्राण्डको शुद्ध घ्युको नाममा उत्पादित नक्कली घ्यु ५२ कार्टुन, मिसावट गर्ने डाल्डा घ्यु २९ कार्टुन तथा घ्यु बनाउन प्रयोग हुने रसायन र भाडा बर्तन र लेवलिङमा प्रयोग हुने बिभिन्न वाण्डको स्टिकरहरु समेत बरामद गरिएको प्रहरी उपरिक्षक राठौरले बताउनुभयो । अभियुक्तहरुलाई आज पर्सा जिल्ला अदालतबाट थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो ।

शुद्ध गाईको घ्यू भनेर उद्योगले बजारमा नक्कली घ्यू बनाएर बिक्री वितरण गरेको सुचनाको आधारमा नक्कली घ्यु उत्पादन गर्ने व्यक्तिहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरी उपरिक्षक राठौरले बताउनुभयो ।

सम्बन्धित