तपाईँ सुन्दै हुनुहुन्छः

कपडा बैंकमा कपडा अभाव

दमौली-तनहुँको दमौलीमा स्थापना गरिएको कपडा बैंकमा कपडाको अभाव भएको छ । विपन्न समुदायका लागि निःशुल्क कपडा वितरण गर्न स्थापना गरिएको बैंकमा कपडाको अभाव भएको लायन्स क्लब अफ तनहुँ दमौलीले जनाएको छ । क्लबका सदस्यबाट सङ्कलन गरिएको रु चार लाखको लगानीमा गत असोज महिनामा कपडा बैंक स्थापना भएको थियो ।

हाल कपडा बैंकमा कपडा अभाव भएकाले विपन्न समुदायलाई कपडा वितरण गर्न समस्या परिरहेको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ (राकु) ले जानकारी दिनुभयो । कपडा बैंक स्थापनाको छोटो अवधिमा नै तीन हजार परिवारलाई निःशुल्क कपडा वितरण गरिएको छ ।

पछिल्लो समय आर्थिक अभाव भएको कारण बैंकमा पर्याप्त मात्रामा कपडा राख्न कठिनाइ भएको जनाइएको छ । अध्यक्ष श्रेष्ठका अनुसार कपडा अभाव भएको जानकारी पाएपछि विदेशमा रहेका नेपालीहरुले चाँडै नै कपडा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

कपडा बैंकलाई दिगो बनाउन रकम सङ्कलन गर्ने उद्देश्यसहित क्लबले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । पुस १५ गते आयोजना हुने साङ्गीतिक कार्यक्रमबाट बचेको रकम कपडा बैंकमा लगानी गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button