तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा स्थायी कमिटी बैठक : भारतले एकतर्फी रुपमा जारी गरेको नक्सा अस्वीकार र अमान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आज सम्पन्न बैठकले अध्यक्षद्धयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन परिमार्जनसहित सर्बसम्मतले पारित गरेको छ ।

यसैगरी बैठकले महासचिवले प्रस्तुत गर्नुभएको बिधान संशोधनको प्रस्तावमा आएका सुझावसमेतलाई ध्यान दिई बिधान संशोधन को प्रस्तावलाई अन्तिम रुप दिई केन्द्रय कमिटीको बैठकमा पेश गर्ने गरी पारित गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज सम्पन्न बैठकले भारतसँगको सीमा बिवादका सम्बन्धमा कालापनीको उद्गमस्थल लिम्पियाधुरा भएको र लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएकोले भारतले एकतर्फी रुपमा जारी गरेको नक्सा अस्वीकार र अमान्य गर्ने निर्णय गरेको छ ।

बैठकले भारतसँगको सीमा बिवादका सम्बन्धमा देखिएको राष्ट्रिय सहमति र आम जनताको चासो र चिन्तालाई उर्जाको रुपमा ग्रहण गर्दै सबैमा धन्यवाद दिने निर्णयसमेत गरेको र यसलाई छिटो समाधान गर्न अपील गर्ने निर्णय बैठकले गरेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी स्थायी कमिटीको सम्पन्न बैठकले पार्टी केन्द्रीय कमिटीको बैठक पुष २३ गते राजधानीमा बोलाउने र त्यस अगावै पार्टी एकीकरणको सम्पूर्ण काम पूरा गर्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष के पी शर्मा ओलीको स्वास्थ्य लाभ कामनाको प्रस्तावसमेत पारित गरेको छ ।

साथै बैठकले सडक दुर्घटना बढेकोमा चिन्ता व्यक्त गर्दै यसलाई न्यूनीकरण गर्ने गरी काम गर्न सरकारलाई अनुरोध गरेको छ ।

तराईमा बढेको चिसो र शीतलहरबाट प्रभावितका लागि राहतको काम अगाडी बढाउन तीनै तहको सरकारलाई बैठकले अनुरोध पनि गरेको छ ।

बैठकमा समापन मन्तव्य व्यक्त गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा भएको छलफल र बहसले पार्टी एकीकरणलाई सुदृढ गर्न, तीनै तहको सरकारलाई प्रभावकारी ढंगले संचालन गर्न र देशलाई सकारात्मक दिशामा अगाडी बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सात दिनसम्म चलेको स्थायी कमिटी बैठकमा बोल्ने स्थायी कमिटी सदस्यहरुले राजनीतिक प्रतिवेदन र बिधान संशोधनलगायतका बिषयमा सहमती जनाउंदै संगठन निर्माणको कार्यलाई सुदृढ गर्नुपर्ने, पार्तीभित्रको गुटबन्दी निरूत्साहित गर्नुपर्ने, सरकारको कामलाई अझ प्रभावकारी बनाउनुपर्ने, केही कमजोरी सच्याउनुपर्नेलगायतका बिषयमा सुझाव दिदै धारणा राख्दै आउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button