शीतलहरले आकस्मिक बैठक
काठमाडौं । तीन दिनदेखि बढ्दै गएको चिसोले जनजीवन प्रभावित बन्न थालेपछि मोरङमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शीतलहरबाट आम नागरिकलाई जोगाउन सबैले सामूहिक जिम्मेवारी बहन गर्नुपर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकमा प्रजिअ भुजेलले शीतलहरले विशेषगरी तराईका जिल्लाहरुमा बढी असर गर्ने भएकाले प्रभावित क्षेत्रमा आवश्यक पर्ने कम्बल, दाउरा र चिकित्सक उपलब्ध गराउने जानकारी दिनुभयो ।
मोरङका सबै स्थानीय तहका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, उद्योग सङ्गठन, मोरङ व्यापार सङ्घ, विराट व्यापार सङ्घ, कोशी अस्पतालका चिकित्सक, जिल्ला वन कार्यालयका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय र विपद्मा राहतका काम गर्ने सबै निकायको सहयोग लिएर शीतलहर प्रभावित क्षेत्रमा जनसेवाको काम गर्ने बैठकमा निर्णय भएको छ ।
खासगरी शीतलहरबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि आकस्मिक बैठक बसेको हो ।
बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले आजदेखि प्रहरीको सक्रियतामा जिल्ला भरीमा १८२ स्थानमा आगो बाल्ने काम भएको भन्दै यो कार्य शीतलहर हुन्जेलसम्म निरन्तरता दिने जानकारी दिनुभयो । कोशी अस्पतालका डा. सन्ध्या ज्ञवालीले यो मौसममा अस्पतालमा दमको रोगीको चापसँगै बालबालिकाहरुलाई पनि चिसोले दुःख दिएर उपचार गराउन आउनेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्याललयका प्रतिनिधि रामनन्द यादवले शीतलहरबाट बच्न मानिसले तातो हुने खानेकुरा खानुपर्ने, घर बाहिर कम निस्कने, आगो ताप्ने, न्यानो हुने लुगा लगाउनुपर्ने सुझाव दिनुभयो । लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौलाले शीतलहरबाट प्रभावित हुने परिवारलाई राहत वितरण गर्न कोष स्थापना गरेको जानकारी दिनुभयो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले यस क्षेत्रमा शीतलहरले खासै असर नगरे पनि गाउँपालिका तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । मोरङका धेरै स्थानीय तहले शीतलहरबाट बचाउन कम्बलको व्यवस्था गरेका छन् । विराट व्यापार सङ्घका अध्यक्ष सुजन थापाले यस्तो परिस्थितिमा सबै व्यापारिक सङ्गठनलाई क्रियाशील बनाएर राहतमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
–रासस
प्रतिक्रिया राख्नुहोस्