तपाईँ सुन्दै हुनुहुन्छः

सरकार र ढुवानी व्यवसायीबीच सहमति भएसँग अनिश्चितकालिन रुपमा ठप्प भएको ढुवानी सेवा सुचारु

बीरगंज । सरकार र ढुवानी व्यवसायीबीच ढुवानी व्यवसायलाई भ्याट र ट्रक ढुवानी व्यवुसायलाई प्यानमा दर्ता गर्ने सहमति भएसँगै पुस २ गते देखि अनिश्चितकालिन रुपमा ठप्प भएको ढुवानी सेवा आजबाट सुचारु भएको छ ।

बीरगंज भन्सार, ड्राईपोर्ट भन्सारमा सामान आयात तथा निर्यातका लागि पुगेका ट्रक तथा कन्टेनरहरु वीरगंजस्थित झण्डै ६ दर्जन भन्दा बढी ट्रान्सपोर्टमा रोकिएका ट्रक तथा कन्टेनरहरु दुई दिन पछि आजबाट सुचारु भएका छन् ।

ढुवानी सुचारु भएपछि बीरगंजबाट आज झण्डै १५ सय भन्दा बढी रोकिएका ट्रक तथा कन्टेनरहरु सामान लिएर राजधानी तथा मुलुकका विभिन्न स्थानमा प्रस्थान गरेको ट्रान्सपोर्ट एशोसिएशन पर्साका सचिव नवराज अधिकारीले जानकारी दिनुभयो ।

अर्थमन्त्रालयमा बिहीवार भएको सहमतिअनुसार ट्रक, ट्याङ्कर र ट्रिपर लगायतका ढुवानीका साधन सञ्चालन गर्ने व्यवसायीले साधनको ब्लुबूक र नागरिकताका आधारमा स्थायी लेखा नम्बर (प्यान) पाउने व्यवस्था गरिएको अधिकारीले बताउनुभयो ।

ढुवानी व्यवसायी र ढुवानीकर्ता दुवै पक्षले बैठकमा २० लाख रुपैयाँभन्दा बढी कारोबार भएमा मूल्य अभिवृद्धि करमा दर्ता हुने प्रतिबद्धता जनाएका छन् । बीरगंज स्थित बजरङ्गबली ट्रान्सपोर्टका संचालक हरेन्द्र साह कानुले ढुवानीकर्ताले अब घरेलु उद्योग वा अन्य कुनै सरकारी कार्यालयमा गएर फर्म दर्ता गर्नु नपर्ने, त्यस्ता ढुवानीकर्ताले ब्लुबूक र नागरिकताका आधारमा ढुवानीका साधनको नम्बर राखेर राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर पाउने बताउनुभयो ।

त्यस्तै ढुवानीकर्ताले प्यान नलिउन्जेलसम्मको खर्च पनि भौचरका आधारमा राजस्व कार्यालयले मान्य गर्ने सहमति भएको जानकारी दिनुभयो । १ हजारभन्दा माथिको खर्चमा प्यान बिल अनिवार्य रहेको छ । बैठकले ढुवानीकर्ताले प्यान दर्ता नगरुन्जेलसम्म टीडीएस तिरेको भौचरका आधारमा खर्च लेख्न पाउने व्यवस्था गरेको साहले बताउनुभयो ।

सरकारले चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत १ हजार रुपैयाँभन्दा बढीको खर्च देखाउन प्यान बिल अनिवार्य गरेकोमा यो व्यवस्था पुस १ गतेदेखि कडाइ गरेसँगै ट्रान्सपोर्ट तथा ढुवानी व्यवसायीले दर्ता नभएका गाडीको काम लिन बन्द गरेका थिए ।

त्यसपछि स्थायी लेखा नम्बर (प्यान) नलिएका ट्रक र यातायात व्यवसायीका ढुवानी साधनमा ढुवानी व्यवसायीले बुधवारदेखि मालसामान लोड अनलोड बन्द गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button