तपाईँ सुन्दै हुनुहुन्छः

‘संरचनागत, कार्यगत स्वतन्त्रता र स्वायत्तताको प्रत्याभूति भए मात्र न्यायपालिका स्वतन्त्र, निष्पक्ष र सक्षम बन्न सक्ने’

काठमाडौँ । प्रधानन्यायाधिश चोलेन्द्र समशेर जबराले न्यायपालिकाको संरचनागत, कार्यगत स्वतन्त्रता र स्वायत्तताको प्रत्याभूति भएमात्र न्यायपालिका स्वतन्त्र, निष्पक्ष र सक्षम बन्नसक्ने बताउनुभएको छ ।

न्यायपरिषद् दिवसको अवसरमा न्यायपरिषद् सचिवालयले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानन्याधिश जबराले लोकतन्त्र, विधिको शासन, मानवअधिकार र नागरिकका हक–अधिकार संरक्षण र प्रत्याभूतिका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका आधारभूत सर्त भएको बताउनुभयो ।

उहाँले न्यायधिशको नियुक्ति, सरुवा–बढुवा, अनुशासन सम्बन्धि कारबाही, बर्खास्ती र न्याय प्रशासन हेर्ने न्याय परिषद्प्रति हुने टीका–टीप्पणीहरुको सुक्ष्म बिश्लेषण आवश्यक रहेको बताउनुभयो ।

प्रधानन्याधिश जबराले परिषद्बाट भएको कमी–कमजोरीहरुको जिम्मेवारी लिदै त्यसलाई सुधार गरेर प्रभावकारी ढंगबाट अघि बढ्न सबैलाई आग्रह समेत गर्नुभयो ।

उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले परिषद्को काम कारबाही प्रति भएका टीका–टीप्पणी र जनस्तरबाट व्यक्त भावनालाई मध्यनजर गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

नेपाल बार एशोसिएसनका अध्यक्ष एवम् बरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले न्याय परिषद्को निर्णयहरु कुनै न कुनै रुपमा आलोचना हुनु दुःखद् भएको बताउनुभयो ।

परिषद्ले यसबर्षको उत्कृष्ठ न्यायधिशमा उच्च अदालत जनकपुर इजलासका न्यायधिश महेशप्रसाद पुडाशैनी र पर्साका जिल्ला न्यायधिश प्रकाश खरेललाई सम्मान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button