तपाईँ सुन्दै हुनुहुन्छः

गुठी संस्थानका प्रमुख प्रशासक अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीलाई घुस लिएको आरोपमा आज नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १ स्थित जग्गासम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाका सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नका लागि घुस लिएको र फिर्ता समेत गरेको प्रमाणका आधारमा प्रमुख प्रशासक चौधरी र उपप्रशासक रेग्मीलाई नियन्त्रणमा लिइएको अख्तियारद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तुल बहादुर श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द्रकुमार मगर र रमेश कुमार खतिवडाविरुद्ध ५ लाख ५० हजार रुपैयाँ सरकारी रकम हिनामिना गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले आजै सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा मालपोत कार्यालय, धादिङ्गका तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्रीसहित ७ जनामाथि आज विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

कर्मचारी र जग्गाधनी समेतको मिलेमतोमा सरकारी श्रेस्ता गैरकानूनी रुपमा सच्याई, नक्सा समेत बढाई सरकारी, सार्वजनिक सम्पत्ति हिनामिना गरेको पुष्टि भएकाले मालपोत कार्यालय, धादिङ्गका तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्री सहित नायव सुब्बाहरु शम्भुनारायण राजभण्डारी, अनन्तराज सत्याल, अमिन भीम प्रसाद श्रेष्ठ, जग्गाधनी नानु अधिकारी र अशोक अधिकारी विरुद्ध प्रतिव्यक्ति ९ लाख ४ हजार ५ सय रुपैयाँ बिगो कायम गरी मुद्धा दायर गरिएको अख्तियारबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button