तपाईँ सुन्दै हुनुहुन्छः

बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा

बनेपा-पनौती नगरपालिकाले वडा नं ७ मा रहेको पनौती स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा ल्याएको छ । नगरप्रमुख भीम न्यौपानेले बर्थिङ सेन्टर र अहिले सञ्चालनमा ल्याएको ल्याब राम्रोसँग सञ्चालन गर्न निर्देशन दिनुभयो ।

पनौतीको मुख्य बजारमा बढ्दो जनसङ्ख्याको चापलाई ध्यानमा राखेर बर्थिङ सेन्टर र ल्याब सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । अहिले पनौतीमा नै अस्पातल निर्माणका लागि पुनःनिर्माण प्राधिकरणबाट रु ६५ लाख रकमसमेत आएको र उक्त रकमले छिट्टै भवन निर्माण हुने प्रमुख न्यौपानेले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले बार्थिङ सेन्टर र ल्याबबाट दिने सबै सेवाहरु निरन्तर दिन आग्रह गर्दै केन्द्र सञ्चालनको क्रममा हुने अवरोध तथा अप्ठ्यारो कार्यमा सबैको साथ÷सहयोग निरन्तर प्रदान गर्नका लागि आग्रह गर्नुभयो । बर्थिङ सेन्टरमा पहिलोपटक बच्चा जन्माउने महिलालाई वडा सदस्य पुरुषोत्तम कर्माचार्यले रु पाँच हजार ५५५ नगद दिने घोषणा गर्नुभएको छ ।

बर्थिङ सेन्टर र प्रयोगशालाका लागि आवश्यक जनशक्ति नगरपालिकाले उपलब्ध गर्ने वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

पूर्वाधार भएको र जनघनत्व बढी भएकाले सो ठाउँमा बर्थिङ सेन्टरको स्थापनासँगै ल्याबमा जोड दिएको उहाँले बताउनुभयो । वडा नं ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले बर्थिङ सेन्टर र प्रयोगशाला स्थापनाले नगर क्षेत्रका महिला थप लाभान्वित हुने बताउनुभयो । बर्थिङ सेन्टर र प्रयोगशालामा एएनसी प्याकेजअन्तर्गत विभिन्न १८ प्रकारका खकार, रगत र पिसाब परीक्षण गरिने ल्याब प्रमुख दिपेश घिमिरेले जानकारी दिनुभयो । सो केन्द्रमा हेल्थ असिस्टेण्ट, अहेव, अनमी, ल्याब असिष्टेण्ट गरी नौ स्वास्थ्यकर्मी रहेका जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button