तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा क्षेत्रमा रहेको सबै प्रकारका विभेदलाई अन्त्य गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

काठमाडौँ । मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रमा रहेको सामन्ती तथा साम्राज्यवादी सबै प्रकारका विभेदलाई अन्त्य गर्नु पर्नेमा शिक्षासँग सम्बन्धीत सरोकारवालाहरुले जोड दिनुभएको छ ।

मदन भण्डारी फाउण्डेसनले आज काठमाडौंमा आयोजना गरेको समाजवाद उन्मुख शिक्षा नीति विषयक छलफल कार्यक्रममा वक्ताहरुले सरकारले हालै मात्र सार्वजनिक गरेको शिक्षा नीतिमा सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री र रोजगारमूलक बनाई देशको आवश्यकता अनुरुपको मानव संशाधन विकास गर्ने महत्वपूर्ण लक्ष्य लिएकोले अब यसको सफल कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक डाक्टर गणेशमान गुरुङ, प्राध्यापक डाक्टर नन्द बहादुर सिं, सुशील प्याकुरेल, यशोदा तिम्सिनालगायतका वक्ताहरुले शिक्षामा पर्याप्त लगानी हुन नसकेको, समाजप्रतिको चिन्तामा ह्रास आएको, मुलुकमा उत्पादित शैक्षिक जनशक्ति पलायन हुने गरेको र शिक्षालाई लगानीको रुपमा हेर्न थालिएकोमा चिन्ता व्यक्त गनुभयो ।

समाजवाद उन्मुख शिक्षा नीतिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै डाक्टर भेषराज अधिकारीले शिक्षा औपचारिक र अनौपचारिक दवै हुनुपर्ने, उच्च माध्यमिक तहसम्मको शिक्षा निशुलक हुनुपर्ने, माध्यमिक तहमा व्यवसायिक कार्यमूलक शिक्षालाई समावेश गर्नुपर्ने, विद्यार्थीको रुचि र छनौट अनुसार मातृभाषा वा प्रचलित भाषामा शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउनु पर्ने सुझाव दिनुभयो ।

यसैगरी शिक्षा सम्बन्धी निकायलाई संगठित र व्यवस्थित गर्नुपर्ने, उच्च शिक्षामा महिलालाई विशेष प्रोत्साहन दिनुपर्ने, जनवादी शिक्षा समाजवाद निर्माणको बाटोतर्फ निर्देशित हुनुपर्नेमा डाक्टर अधिकारीले जोडदिनुभयो ।

तस्बिर : आषिस पौडेल 

प्रतिक्रिया राख्नुहोस्

Back to top button