तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : पौडेल पक्षधर केन्द्रीय सदस्यद्वारा बहिस्कार

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक पनि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर केन्द्रीय सदस्यहरुले बहिस्कार गरेका छन् ।

महाधिबेशनको कार्यतालिका पेश गर्नुपर्ने माग राख्दै आएका बरिष्ठ नेता पौडेल पक्षधर केन्द्रीय सदस्यहरुले माग सम्बोधन हुन नसकेपछि आजको बैठक पनि बहिस्कार गरेका हुन् ।

पौडेल पक्षधर केन्द्रीय सदस्यहरुको बहिस्कारका बावजूद सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयका बसेको केन्द्रीय समितिको बैठकले मंसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा बम विष्फोटमा परी प्रहरी निरिक्षक अमिर दाहाल र अन्य दुई जना नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारलाई यस्ता घटनाप्रति गम्भीर हुन अपिल गरेको छ ।

आजको बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार एवं केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र रमेश लेखकले आफ्नो धारणा राख्नु भएको थियो ।

साथै बैठकले बम विष्फोटमा परेर घाइते भएकाहरुको सम्पूर्ण उपचार गर्न तथा मृतकका परिवारलाई राहतको व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ ।

यसैगरी बैठकले दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस आज विहान सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १५ जनाको मृत्यु र १८ जना गम्भीर घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुसंगै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

कांग्रेश केन्द्रीय समिती बैठकले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको उचित उपचारको प्रबन्ध गर्न समेत सरकारसँग माग गरेको छ ।

कांग्रेश केन्द्रीय कार्यसमितिको अर्को बैठक भोलि मंसिर ३० गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button