तपाईँ सुन्दै हुनुहुन्छः

हिउँदे झरीसँगै उपत्यकाका नदी र चक्रपथ सफाइ 

फाइल तस्बिर

काठमाडौँ  ।  मङ्सिरको झरीले वातावरण चिसो भए पनि बिहान ७ः०० बजे नै सफाइ अभियानकर्मीले उपत्यकाका नदी तथा चक्रपथ सफाइ अभियानलाई जारी राखेका छन् । शुक्रबार बिहानैदेखि राजधानीलगायत देशभर वर्षा भएर तापक्रम घटे पनि सफाइकर्मीको उत्साह भने घटेन ।

प्रत्येक हप्ता शनिबार झैँ आज पनि पूर्वनिर्धारित नदी किनार र चक्रपथका विभिन्न स्थानमा उपस्थित भएर सफाइ अभियान चलाए । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, पानी, घाम, दशैँ, तिहारलगायत जुनसुकै बेला पनि टुटेको छैन । प्रत्येक हप्ता निरन्तर रुपमा आज ३४४औँ हप्ता भएको छ । आज थापाथली प्रसूति गृह वरिपरिको नदी किनारमा सफाइ गरियो ।

सफाइमा नेपालका लागि फ्रान्सका राजदूत फस्वा जाभिए लेजे, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत ४०० अभियानकर्मीको सक्रियता थियो । उन्नाइस संस्थाको संस्थागत सहभागितामा भएको सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो ।

थापाथली क्षेत्रमा सुकुम्वासीका कारण सफाइमा चुनौती थपिएकाले के गर्ने भन्ने विषयमा आइतबार अभियानकर्मीको विशेष बैठक बस्ने उहाँले बताउनुभयो । शहरी विकास मन्त्रालयले पहल गरे सुकुम्वासी समस्या समाधानमा सहयोग पुग्ने अभियानकर्मीको विश्वास छ ।

रुद्रमती सफाइको २९६औँ हप्तामा रातोपुलदेखि कालोपुलसम्मका दुवै किनारमा सफाइ गरियो । सफाइबाट दुई क्विन्टल फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । चक्रपथ पश्चिम खण्ड सफाइको १२३औँ हप्तामा सीतापाइलाचोकबाट छाउनीचोकसम्मको क्षेत्रमा सफाइ गरियो ।

यसबीचमा पर्ने वाहिटी क्षेत्रमा आज विशेष सफाइ गरिएको अभियानकर्मी ताराबहादुर कुँवरले बताउनुभयो । सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको थियो ।

ललितपुरको गोदावरी खोला सफाइको ४१औँ हप्तामा गोदावरी नगरपालिका–१४ खुसिबु कोलोनी ठैबमा गरियो । सफाइमा स्थानीयवासीलगायत महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका सुरक्षाकर्मीको पनि सक्रियता थियो । यसैगरी उपत्यकाका गुह्येश्वरीमाथिको वाग्मती, चक्रपथ उत्तर खण्ड, आलोकनगर, वाग्मतीको सुन्दरीघाट र तिलगङ्गा, मनोहरालगायत स्थानमा पनि सफाइ गरिएको जनाइएको छ । विष्णुमतीमा भने वर्षाका कारण सफाइ हुन नसकेको जनाइएको छ ।

हेटौँडा उपमहानगरपालिका–१० का अध्यक्ष किताबसिंह लामा र वातावरण शाखाका राम भुजेलको सक्रियतामा हेटौँडामा पनि आजदेखि सफाइ अभियान शुरु गरिएको छ । सफाइलाई अब प्रत्येक हप्ता निरन्तरता दिने प्रतिबद्धता जनप्रतिनिधिले जनाएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिनुभयो ।

वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट हालसम्म देशभर १०६ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । सफाइ अभियान स्वतस्फूर्त रुपमा शुरु भए पनि स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दा प्रभावकारी हुन नसकेको अभियानकर्मीको गुनासो छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button