तपाईँ सुन्दै हुनुहुन्छः

भीमेश्वरको दर्शनसँगै कालिञ्चोकको हिउँ मज्जा (फोटोफिचर)

 

दोलखा/ काठमाडौँ मुलपानीका अनिलमणी गजुरेल दम्पति शुक्रवार दोलखा भीमेश्वर दर्शन गरेर कालिञ्चोक यात्राको लागि हिडे, संयोग कस्तो प¥यो भने कालिञ्चोकमा शुक्रवार विहानैदेखि यो बर्षको पहिलो हिमपात भै रहेको थियो ।
दिउँसो एक बजेतिर कालिञ्चोक कुरीमा भेटिनु भएका अनिलमणीले भन्नु भयो – कालिञ्चोक आईपुग्दा अलौकीक आनन्द भएको छ, जीवनमै पहिलो पटक हिमपातमा रमाउन पाउदा थकाई र चिसो सबै भुलेको छु । अप्सरा दंगाल गजुरेलले पनि कालिञ्चोक आईपुग्दा चारैतिर हिउँ देखेर साह्र आनन्द लागेको बताउनु भयो ।

भक्तपुरका सहदेव लामिछानेले पनि जीवनमा पहिलो पटक हिउँसंग खेल्ने मौका पाएका छन् । यतिधेरै हिउँ परेको पहिलो पटक देख्दा साह्रै खुशी लागेको छ, कालिञ्चोक त सुन्दर ठाँउ रहेछ – सहदेवले भन्नु भयो ।

दोलखाको कालिञ्चोकमा शुक्रवार विहानै देखि भारी हिमपात भै रहेको छ । यो बर्ष पहिलो पटक शुक्रवार विहानदेखि भारी हिमपात भै रहेको कालिञ्चोक कुरीमा रहेको सुनपाति होटलका सञ्चालक हरि ओलीले बताउनु भयो । शुक्रवार कालिञ्चोक पुगेका सयौ पर्यटकहरु भारी हिमपातको कारण सवारी साधन गैरीमै रोकिएपछि घण्टौ पैदल हिड्न बाध्य भएका थिए । घण्टौ हिड्नु परेपनि थकाईको महशुसनै नभएको उनीहरुको भनाई छ ।

काठमाडौँबाट चरिकोटसम्मको सडक बिग्रिएकोले केही महिनादेखि पर्यटक आगमनमा मन्दि भएको तर शुक्रवारबाट हिमपातसंगै पर्यटकको संख्यामा समेत बृद्धि भएको कालिञ्चोक कुरीको होटल कन्ट्रिभिल्लाका सञ्चालक नविन खड्काले भन्नु भयो ।

कालिञ्चोकको प्रस्थान विन्दु कुरीमा ३५ सय पर्यटक अट्न सक्ने क्षमताको ४० भन्दा बढी होटलहरु रहेका छन् । केहि समय देखि सुनसान रहेको होटलहरु हिमपातसंगै भरीभराउ हुन थालेको सुनपाती होटलका सञ्चालक हरि ओली बताउनु हुन्छ । पर्यटन बर्ष २०२० मा कालिञ्चोकमा अत्यधिक पर्यटक आउने अनुमान गरिएको हरिको भनाई छ ।

३८४२ मीटरको उँचाईमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुबै हिसाबले निक्कै महत्वपूर्ण मानिन्छ । कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड नै यहाँको मुख्य विशेषता हो । किम्वदन्ति अनुसार जलकुण्डबाट दाहिने तिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको छ । कालिञ्चोक मन्दिर परिसरमा हिमालय पर्वतकी पुत्री पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको वासस्थान भएको जनविश्वास रहदै आएको छ ।

कालिञ्चोक क्षेत्रमा भेडागोठहरु रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडाहरु जम्मा भएर बस्ने तथा ढुङ्गा चाट्ने गरेर जलकुण्ड देखिएको किम्वदन्ति समेत प्रचलनमा रहेको छ । धार्मिक मान्यताअ अनुसार दोलखा भीमेश्वरको दर्शन गरी कालिञ्चोकको दर्शन ग¥यो भने मागेको कुरा पुरा हुने, रोग व्याधि नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्तिमा बृद्धि हुने जनविश्वास समेत रहदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button