तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको कोहलपुरमा कर्फ्यु जारी

नेपालगञ्ज । बाँकेको कोहलपुरमा तनाव बढेपछि मुख्य सडक क्षेत्रमा अवस्था सामान्य नहुँदासम्मका लागि कर्फ्यु जारी गरिएको छ । स्थिति नियन्त्रण बाहिर गएपछि कर्फ्यु जारी गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले बताउनुभयो ।

आज बिहान पौने १० बजे कोहलपुर नेपालगञ्ज सडक खण्ड अन्तर्गत् हाइस्कुल चोकमा ना २ ख ९४५९ नम्बरको ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर १० की प्रकृति चन्द गम्भीर घाइते भएपछि आक्रोशित विद्यार्थी र स्थानीयले ट्रकमा आगजनी गरेका थिए ।

घटनापछि आक्रोशित विद्यार्थी र स्थानीयले प्रहरी कार्यालयमै तोडफोड र आगजनी गर्न थालेपछि प्रहरीले हवाई फायर र लाठी चार्ज गर्दा केही विद्यार्थी घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

विद्यार्थीहरुले प्रहार गरेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीसहित नौ जना प्रहरी घाइते भएका छन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते बालिकाको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लैजाने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button