तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय भवन बनेपछि पठनपाठन सहज

दमौली-तनहुँको भीमाद नगरपालिका–१ डुम्रीबेँसीस्थित शङ्कर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहजता आएको छ । पुरानो र जीर्ण भवनमा पठनपाठन हुँदै आएको यस विद्यालयको चारकोठे नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज भएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत रु ७१ लाख ६१ हजार २६ को लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक यमबहादुर श्रेष्ठले जानकारी दिनुभयो । गत वर्षको मङ्सिरबाट निर्माण शुरु भएको भवन यही कात्तिकमा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । नयाँ भवन निर्माणपछि पठनपाठनमा सहज हुने प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।

विद्यालयमा हाल २७६ विद्यार्थी अध्ययनरत छन् । ४१ वर्षपछि पक्की भवन स्थापनाको ४१ वर्षपछि तनहुँको देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयको पक्की भवन निर्माण भएको छ । विसं २०३५ मा स्थापना भएको विद्यालय हालसम्म कच्ची र टहरामा सञ्चालन हँुदै आएकामा राष्ट्रिय पुनःनिर्माण प्र्राधिकरणमार्फत विद्यालयको पक्की भवन निर्माण सम्पन्न भएको हो ।

स्थापनाको चार दशकपछि रु ६७ लाखको बजेटमा विद्यालयको पक्की भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद उपाध्यायले जानकारी दिनुभयो । भवन निर्माणका लागि गत वर्ष जिल्ला आयोजना कार्यान्वयन एकाइले (शिक्षा) बजेट विनियोजन गरेको थियो । बाह्र कक्षासम्म अध्ययन हुने उक्त विद्यालयमा २५० विद्यार्थी अध्ययनरत छन् । नयाँ पक्की भवन निर्माणसँगै पठनपाठनमा सहज हुने प्रधानाध्यापक उपाध्यायले बताउनुभयो ।

प्रधानाध्यापक उपाध्यायका अनुसार कच्ची भवनमा पानी चुहिने, टिनमा परेको पानीको आवाजले समस्या हुने तथा गर्मी मौसममा टिन तातेर दिउँसो बस्नै नसकिने जस्तो समस्या रहँदै आएको थियो । लामो समयको प्रयासपछि पक्की भवन निर्माण गर्न सकिए पनि विद्यालयलाई थप भवन आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अधिकारीले बताउनुभयो ।

यसैबीच तनहुँ क्षेत्र नं १ का विभिन्न विद्यालय भवन निर्माणका लागि चालू आव २०७६÷७७ का लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बजेट विनियोजन गरेको छ । भूकम्पबाट क्षति पुगेका ४१ विद्यालय भवन पुनःनिर्माणका लागि प्राधिकरणले बजेट विनियोजन गरेको हो ।

चारकोठे भवनका लागि बढीमा रु ६८ लाख, तीनकोठे भवनका लागि रु ३१ लाख र दुईकोठे भवनका लागि रु २३ लाखका दरले बजेट विनियोजन भएको छ । चारकोठे भवनअन्तर्गत २६, तीनकोठे भवनअन्तर्गत दुई र दुईकोठे भवनअन्तर्गत १३ विद्यालयलाई बजेट विनियोजन भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button