तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आचारसंहिता विपरीत प्रयोग गरिएका पाँच मोटरसाईकल नियन्त्रणमा

बीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाबाट प्रहरीले निर्वाचन आचारसंहिता विपरीत प्रयोग गरिएका पाँच वटा सरकारी मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी महुबनले ४ वटा पल्सर मोटरसाइकल र एउटा स्कुटर नियन्त्रणमा लिएको हो । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ मा १४ गते हुन गई रहेको वडाअध्यक्षको निर्वाचनलाई मध्यनजर गर्दै चुनावमा प्रयोग भएका जनप्रतिनिधिका सरकारी मोटर साईकल बुधवार साँझ प्रहरी चौकी महुवनले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

दलगत चुनावी सभामा जनप्रतिनिधिहरु सरकारी नम्बर प्लेटका सवारी साधन चढेर सहभागी भई फर्कने क्रममा प्रहरीले बुधबार साँझ ना १ ब २७४८ नम्बर को स्कुटी, ना १ ब ३०५७, ना १ ब ३५८७, ना १ ब ३१४६, ना १ ब २७५० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका सवारी साधनलाई प्रक्रिया पूरा गरेपछि मात्रै छाडिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिह राठौरले बताउनु्भयो ।

यता प्रहरी प्रशासनले सवारी चालक तथा जनप्रतिनिधिको नाम भने गोप्य राखेकोे छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले निर्वाचन आचार संहिता विपरित सरकारी सवारी साधन प्रयोग गरिएकोले नियन्त्रणमा लिइएको बताउनुभयो ।

सरकारी गाडी अन्य समयमा पनि दुरुपयोग गर्न नपाईने र चुनावी अभियानमा लिएर जानु आचारसंहिता विपरीतको काम भएको हुँदा सवारी साधन नियन्त्रणमा लिन निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button