तपाईँ सुन्दै हुनुहुन्छः

सत्य निरुपण तथा मेलमिलाप आयोगको ५०९ उजूरीउपर छानबिन

तुलसीपुर(रासस) । सत्य निरुपण तथा मेलमिलाप आयोग प्रदेश नं ५ को मुकाम तुलसीपुरले ५०९ वटा उजूरीको प्रारम्भिक अनुसन्धान गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज तुलसीपुरमा आयोजना गरेको कार्यसम्पादन मूल्याङ्कन तथा भावि कार्यनीतिका विषयमा छलफल कार्यक्रममा उक्त प्रतिवेदन प्रस्तुत गरेको थियो ।

विसं २०७४ देखि सञ्चालनमा आएको उक्त कार्यालयमा एक हजार ७९९ उजूरी पठाइएको थियो । साथै आयोगका सहन्यायाधीवक्ता टेकबहादुर घिमिरेका अनुसार देशभर ६३ हजार ९५० निवेदन आयोगमा दर्ता भएका छन् । पछिल्लो एक वर्षदेखि अयोगले पूर्णता नपाउँदा देशभरका काम ठप्प भएको छ । तुलसीपुर मुकाममा पनि गएको वर्षको फागुनदेखि काम ठप्प छ ।

आयोगले पूर्णता पाएपछि काम शुरु हुनेसमेत उहाँले बताउनुभयो । साथै आगामी दिनमा आयोगको थप कार्यलय विस्तार गर्ने वा हटाउने, आगामी दिनमा कसरी कार्यसम्पादन सहज बनाउने भन्ने विषयमा समेत छलफल भएको थियो । तत्कालीन नेकपा (माओवादी) र राज्यपक्षबाट पीडित भएकाको उजूरीको सुनुवाइ तथा प्रारम्भिक अनुसन्धान तथा न्यायिक व्यस्थापन गर्ने उद्देश्यले मुकाम खोलिएको हो ।

त्यस अवसरमा उच्च सरकारी वकिल कार्यालयका सहन्याधीवक्ता ईश्वरीप्रसाद वञ्जाडेले मुकाम कार्यालयलाई पनि पीडितलाई राहात दिने गरी अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले अहिले भएका कर्मचारीको सङ्ख्या घटाएर ती कर्मचारीले खाने तलब पीडितलाई दिनुपर्ने बताउनुभयो । करारमा कर्मचारी भर्ना गर्दा द्वन्द्वपीडित परिवारलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

तलब कटाएर द्वन्द्वपीडितलाई सहयोग

उच्च सरकारी वलिक कार्यालयका सहन्यायाधीवक्ता ईश्वरीप्रसाद बञ्जाडेले आफ्नो तलबको केही रकम द्वन्द्वपीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो तलबको १० प्रतिशत हुन आउने रकम मासिक पाँच हजार द्वन्द्वपीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले उक्त रकम रोल्पा थवाङका द्वन्द्वपीडितका विद्यार्थी तथा आमा समूहलाई सहयोग गर्ने बताउनुभयो । अन्य कर्मचारी तथा जनप्रतिनिधलाई यो कार्यमा प्रोत्साहन गर्न आफूले यसरी सहयोग घोषणा गरेकोसमेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button