तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन २०७६: तयारी तीव्र, दलहरु घरदैलोमा

कावासोती-नवलपरासीपूर्व नवलपुरको बौदीकाली गाउँपालिका–५ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ । निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्रलगायत सामग्री आइपुगेको छ । निर्वाचन सामग्री सुरक्षित राखिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

दलहरुले प्रचार–प्रसार शान्तिपूर्णरूपमा गरिरहेको र निर्वाचनको तयारी सौहार्दपूर्णरूपमा चलिरहेको अधिकारीले बताउनुभयो । मतदान हुने वडामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना गरी ४५ जना खटाइने उहाँले उल्लेख गर्नुभयो । निर्वाचन हुने वडा र त्यस आसपासको क्षेत्रमा प्रशासनले मङ्सिर १२ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।

वडा नं ५ को निर्वाचन हुने स्थानमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगीसमेत खटाइएको अधिकारीले बताउनुभयो । बौदीकाली–५ मा ८५३ मतदाता रहेका छन् । बौदीकाली–५ स्थित उदय आधारभूत विद्यालय जौबारीलाई मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका निर्वाचन अधिकारी सुदीप पाण्डेले जानकारी दिनुभयो ।

मतदातालाई सही तरिकाले मत खसाल्न जानकारी दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । यसअघि स्थानीय तहको निर्वाचनमा यहाँ ८०१ मतदाता थिए । वडाध्यक्षका लागि तीन उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । वडाध्यक्ष पदका लागि नेकपाका खिमबहादुर थापा खरुमगर र काङ्ग्रेसका तुलबहादुर राना उम्मेदवार रहनुभएको छ ।

उनीहरु नाताले मामा भान्जा हुन् । नेकपाका उम्मेदवार खिमबहादुरले १५ बुँदे घोषणापत्र जारी गरी घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ । नेकपा जिल्ला कमिटी अध्यक्ष रोशनबहादुर गाहाका अनुसार पार्टीका सबैजसो नेता प्रचारप्रसारमा जुटेका छन् । काङ्ग्रेसले पनि निर्वाचनका लागि घरदैलो अभियानलाई तीव्र पारेको छ । सांसद तथा जिल्लाका नेतासमेतको टोली घरदैलो अभियानमा जुटेको काङ्ग्रेस जिल्ला सभापति विष्णु लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button