तपाईँ सुन्दै हुनुहुन्छः

बल्ल खानेपानी आयो, अव घरवास चलाउन सहज हुन्छ’

दमौली । जिल्लाको भीमाद नगरपालिका–९ पाथर्दीमा श्रीमाया आलेले घरवास सञ्चालन गर्नुभएको छ । घरवासमा बस्न पाहुना आउँदा आलेलाई एकमात्र चिन्ता हुन्थ्यो, त्यो हो पानीको ।

आलेको घरमा खानेपानी धारा थिएन । आलेको घरमा मात्र होइन पाथर्दीका ५३ घरधुरीमा नै अहिलेसम्म खानेपानी धारा जडान भएको थिएन । “पाहुनालाई नुहाउन, मुख धुन पानीको जोहो कसरी गर्ने भन्ने चिन्ताले सधैँ सताइरहन्थ्यो,” आलेले भन्नुभयो, “तैपनि सार्वजनिक धारा र कुवाबाट पानी बोकेर ल्याएर भए पनि अहिलेसम्म पानीको व्यवस्था गरिरहेको थिएँ ।” सोमबारबाट भने घरमै खानेपानी धारा जडान भएपछि आलेलाई पानीको जोहो गर्ने समस्याबाट मुक्ति मिलेको छ । साथसाथै घरवास चलाउन पनि अव सहज हुने अनुभूति आलेले गर्नुभएको छ ।

घरवास सञ्चालक केशकुमारी थापाले घरमा धारा जडान नहुँदा आधा घण्टा दूरी हिँडेर सार्वजनिक धारा र कुवाबाट पानीको जोहो गर्दै आएनुभएको थियो । अव खानेपानी व्यवस्थाका लागि थापालाई अन्यत्र जानुपर्दैन, घरमै धारा खोलेपछि पानी आउँछ । “आधा घण्टाको दूरीमा रहेको सार्वजनिक धारामा पुगेर पानी ल्याउँथ्यौं,” थापाले भन्नुभयो, “घरमै धारा आएपछि खानेपानीको समस्याबाट मुक्ति पायांै ।”

श्रीमाया र केशकुमारी जस्तै पाथर्दीका ५३ घरधुरीमा घरघरमै धारा जडान भएपछि यहाँका स्थानीयवासीे वर्षौदेखिको खानेपानी समस्याबाटमुक्ति पाएका छन् । ५३ घरधुरीमध्ये यहाँको १० घरधुरीमा गत वर्षदेखि घरवास सञ्चालन गरिएको छ । घर–घरमै खानेपानी धारा जडान भएपछि घरवास सञ्चालकले अव आफूहरुलाई घरवास चलाउन सहज भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

पाथर्दीका शिवकुमार आले, इमानसिं थापा, मोहन राना, शिवबहादुर राना, श्रीराम आले, मोतीसरा थापा, देवी मोक्तान आले र लालबहादुर रानाले घरवास सञ्चालन गरिरहनुभएको छ । खानेपानीको अभावले घरवास सञ्चालनमा कठिनाई परिरहेपनि खानेपानी सुविधा पुगेसँगै अव घरवास चलाउन सहज हुने विश्वास गरिएको पाथर्दी सामुदायिक घरवास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो ।

आलेका अनुसार स्थानीयवासीले सार्वजनिक धाराबाट खानेपानी बोकेर ल्याउनुपर्दथ्यो । “सार्वजनिक धारामा पनि नियमित पानी आउँदैनथ्यो, त्यस्तो बेला कुवाबाट पानी ल्याउनुपर्ने बाध्यता थियो,” आलेले भन्नुभयो, “घरवास चलाउन पानीको अभाव हुन्थ्यो, अव घरमै पानी पुगेपछि यस समस्याबाट मुक्ति पाएका छौ ।”

मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको रुपमा छनोट भएको पाथर्दीमा गण्डकी प्रदेश सरकारको सहयोगमा गहतेखोला पाथर्दीखोला खानेपानी आयोजना सम्पन्न भएपछि यसबाट ५३ घरधुुरीका २७० जना लाभान्वित भएका छन् । प्रदेश सरकारको रु ३६ लाख ६३ हजार ४८१ र स्थानीय उपभोक्ताको रु १० लाख २० हजार ४१३ गरी कूल रु ४६ लाख ८३ हजार ८४९ को लागतमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

आयोजनाको डिपिआर तयार गर्दा रु ६६ लाख ३१ हजार २८६ लागत अनुमान गरिए पनि अनुमानभन्दा कम लागतमै आयोजना निर्माण सम्पन्न भएको तिमिल्सिनाले बताउनुभयो । खानेपानी वितरणका लागि तीन वटा इन्टेक र तीन वटा ट्याङ्की निर्माण गरिएको छ । आयोजनाको प्रशारण लाइन तीन हजार ४८० मिटर र वितरण लाइन एक हजार १९० मिटर रहेको छ ।

पम्पिङ प्रणाली भएकोले कतै मूलबाट सिधँै र कतै पम्पिङमार्फत् खानेपानी सुविधा पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर रानाले जानकारी दिनुभयो । आयोजनालाई दिगो रुपमा सञ्चालन गर्नका लागि कोष निर्माण गरिनेछ । रानाका अनुसार सोही कोषबाट आयोजनाको मर्मत सम्भार गरिनेछ ।

निर्माण सम्पन्न भएको आयोजना खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ । आयोजनाकोे गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गर्दै खानेपानी सुविधा नपुगेका प्रदेशका सबै बस्तीमा खानेपानी सुविधा पु¥याइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button