तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा थपियो धान जोन

रोशन तिवारी, पर्वत । कृषिको व्यवसायिककरण र यान्त्रिकरणमा जोड दिँदै आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत पर्वतमा धान जोन थप भएको छ । जिल्लाका कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका १४ वडा समेटेर धान जोन स्थापना भएको हो ।

दुवै स्थानीय तहका एउटै कोरिडोरमा पर्ने ५०० हेक्टर जमिन समेटेर धान जोन क्षेत्र बनाईएको जोन कार्यालय प्रमुख धनवहादुर थापाले जानकारी दिनुभयो । परम्परागत रुपमा धानखेती हुँदै आएको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरि उत्पादन बृद्धि गर्न धान जोन सञ्चालन गरिएको थापाले बताउनुभयो । धान जोन क्षेत्रमा सिँचाई सुविधा, मल, वीउ र ढुवानीमा कृषकलाई अनुदान दिने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो । कार्यक्रम कार्यान्वयनका लागि एक करोड रुपैयाँ बजेट रहेको थापाले बताउनुभयो ।

यहाँ धान जोन क्षेत्रमा कृषकहरुको भेला डाँकेर जोन सञ्चालक समिति गठन भइसकेको छ । वडास्तरीय समिति बनाएर कृषकलाई तालीम दिन थालिएको छ । पर्वतको कुश्मामा धान जोनको कार्यालय स्थापना भसकेको छ । कार्यालयमा वरिष्ठ कृषि विकास अधिकृतसहित प्राविधिक कर्मचारी खटिएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार पर्वतको २८ हजार ६ सय हेक्टर खेतीयोग्य जमीनमध्ये ९ हजार ७० हेक्टरमा बर्खे र २ हजार हेक्टरमा चैते धानको खेती हुँदै आएको छ ।

यस्तै फलेवास नगरपालिका १० कुर्घामा धान ब्लक घोषणा गरी रैथाने धानबाली संरक्षण कार्यक्रम गत वर्षदेखि सञ्चालन हुँदै आएको जानकारी दिए । एउटै कोरिडोरमा धेरै क्षेत्र समेट्न नसकिने भएपछि एउटा मात्रै वडामा ब्लक क्षेत्र बनेको उनको भनाइ छ । उनका अनुसार पैयुँ गाउँपालिका–४, हुवासमा पनि यस वर्ष धान ब्लक बनाउने तयारी छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत फलेवास, विहादी र महाशिला गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालन भइसकेको छ । सुन्तला, तरकारी, अलैंचीको ब्लक र पकेट क्षेत्र पनि विस्तार भइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button