तपाईँ सुन्दै हुनुहुन्छः

६८ विद्यार्थी, चार करोडको भवन

दोलखा । दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ७ फस्कुमा रहेको भद्रेश्वर आधारभूत विद्यालयमा ६८ जना विद्यार्थी छन् । २०७२ सालको भुकम्पले पुरानो भवन भत्काएपछि केहि कक्षा अहिलेसम्म पनि टहरामै सञ्चालन भै रहेको भद्रेश्वरमा अहिले चार करोड भन्दा बढीको लागतमा विद्यालय भवन निर्माण हुदै छ ।

एसियाली विकास बैङ्क (एडिवि) को ऋण सहयोगमा डिआरएसपी –१ कार्यक्रम अन्र्तगत जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) दोलखाले जिल्लाको नौ वटा स्थानिय तहमा १२ वटा विद्यालय भवन निर्माण गरी रहेको छ । तर अधिकांश विद्यालयमा विद्यार्थीको संख्या भने न्युन रहेको देखिन्छ ।

योजनाको मापदण्ड अनुसार कम्तिमा दुई सय विद्यार्थी भएको विद्यालयमा नयाँ भवन निर्माणको लागि सहयोग गरिन्छ । तर नयाँ भवन निर्माण भै रहेको १२ वटा विद्यालय मध्य ४/५ वटा विद्यालयमामात्र मापदण्ड अनुसारको विद्यार्थी संख्या रहेको स्थानियको भनाई छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) दोलखाका प्रमुख देवकुमार बराल आयोजना सञ्चालनको लागि विद्यालयको तथ्याङ्क संकलनको क्रममा सबै विद्यालयमा आवश्यक संख्यामा विद्यार्थी रहेको भएपनि अहिले बिभिन्न कारणले केहि विद्यालयहरुमा विद्यार्थी संख्या घटेको बताउनु हुन्छ ।
भद्रेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर बुढाथोकी भुकम्प अघि विद्यालयमा दुई सय भन्दा बढी विद्यार्थी रहेको तर भुकम्पका कारण विद्यालय आसपासका वासन्दा समेत अन्यत्र गएकोले विद्यार्थीको संख्यामा समेत कमि आएको बताउनु हुन्छ । अहिले अधिकांश मानिसहरु घर निर्माण गरेर पुनः आफ्नो थातथलो फर्कदै गरेकोले विद्यालयमा विद्यार्थी संख्या बृद्धि हुने प्रधानाध्यापक बुढाथोकी बताउनु हुन्छ ।

भद्रेश्वर आधारभूत विद्यालयमा चार करोड ११ लाखको लागतमा नौ कोठे भवन निर्माण भै रहेको छ । प्रधानाध्यापक बुढाथोकी नयाँ भवन निर्माण पछि अंग्रेजी माध्यमबाट थप व्यवस्थापन सहित विद्यालय सञ्चालन गरिने र विद्यार्थी संख्या समेत बृद्धि हुदै गएकोले नयाँ भवन पूर्ण रुपमा उपयोग हुने बताउनु हुन्छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ५ माटीमा रहेको महेन्द्रोदय माविमा पनि २२ कोठे नयाँ भवन निर्माण हुदै छ । तर विद्यालयमा हाल एक सय ६० जनामात्र विद्यार्थी रहेका छन् । विद्यालयका प्रधानाध्यापक लक्ष्मी भुजेल भुकम्पले विद्यालयको भवन भत्काएपछि धेरै विद्यार्थीहरु अन्यत्र गएकोले संख्या कम भएको बताउनु हुन्छ । नयाँ भवन निर्माण पछि विद्यालयमा उल्लेख्यमात्रामा विद्यार्थीहरु आउने प्रधानाध्यापक भुजेल बताउनु हुन्छ ।

एसियाली विकास बैङ्क (एडिवि) को ऋण सहयोगमा डिआरएसपी –१ कार्यक्रम अन्र्तगत जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) दोलखाले तीन (सि) सातकोठे भवन दुई वटा, तीन (सि) नौकोठे भवन दुई वटा, तीन (सि) १२ कोठे भवन तीन वटा र तीन (सि) २२ कोठे भवन पाँच वटा गरी १२ वटा विद्यालयमा १३ वटा ब्लक निर्माण गरी रहेको र सबै भवनको ७० प्रतिशत काम सकिएको डिआरएसपी –१ कार्यक्रमका इन्जिनियर दीपेन्द्र जमरकटेलले बताउनु भयो ।

६४ करोड (भ्याट सहित ७४ करोड) लागतमा निर्माण भै रहेका ती भवनहरु भीमेश्वर नगरपालिकाको दुई वटा विद्यालयमा, कालिञ्चोक गाँउपालिकाको एक वटा विद्यालयमा, मेलुङ गाँउपालिकाको चार वटा विद्यालयमा, विगु गाँउपालिकाको एक वटा विद्यालयमा, शैलुङ गाँउपालिकाको एक वटा विद्यालयमा, तामाकोसी गाँउपालिकाको दुई वटा विद्यालयमा र जिरी नगरपालिकाको एक वटा विद्यालयमा निर्माण भै रहेको पनि इन्जिनियर जमरकटेलले बताउनु भयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) दोलखाबाट प्राप्त तथ्याङक अनुसार दोलखा जिल्लामा तीन सय ६८ वटा विद्यालयको १२ सय दुई वटा विद्यालय भवनमा क्षति पुगेको थियो । बिभिन्न दातृ निकायको सहयोगमा इकाईले जिल्लामा हालसम्म पाँच सय १४ वटा विद्यालय भवन निर्माण गरिसकेको र एक सय ३३ वटा निर्माणधिन रहेको प्रमुख देवकुमार वरालले बताउनु भयो । भवन निर्माणको लागि जिल्लाको बिभिन्न २८ वटा विद्यालयबाट प्रस्ताव प्राप्त भएको पनि इकाई प्रमुख बरालले बताउनु भयो ।

तस्विरः १) भद्रेश्वर आधारभूत माविको निर्माणधिन विद्यालय भवन २) टहरामा कक्षा सञ्चालन

प्रतिक्रिया राख्नुहोस्

Back to top button