तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क आँखा शिविरमा पाँच सय बढी लाभान्वित

पर्वत-जलजला गाउँपालिका–३ मल्लाजमा सम्पन्न निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविरमा पाँच सयभन्दा बढीको परीक्षण गरिएको छ । लायन्स क्लब अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, नेपाल रेडक्रस सोसाइटीले बेनी अस्पताल परिसरमा सञ्चालन गरेको आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर आयोजना गरेको थियो ।

गाउँपालिकाको समन्वयमा तीन दिनसम्म सञ्चालन भएको शिविरमा न्यू होराइजन आवासीय मावि बेनी, प्याराडाइज बोर्डिङ, विद्याज्योति मावि, अमृत आदर्श बोर्डिङ स्कूल मल्लाज, नव उत्साही समूह बेनीले स्वयंसेवक परिचालन गरेका थिए ।

आइतबारदेखि शुरु भएको शिविरमा मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजा, धाइरिङ, नागी, राम्चे र बेनीबजार आसापासका गाउँका आँखाका बिरामीले सेवा लिएका लायन्स क्लब अफ बेनी मल्लाजका द्वितीय उपाध्यक्ष विक्रम सुवेदीले जानकारी दिनुभयो । शिविरमा ५२३ जना लाभान्वित भएका क्लबका अध्यक्ष दिनेश बानियाँले बताउनुभयो ।

हिमालायन आँखा अस्पताल पोखराका चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा आँखा उपचार केन्द्र बेनी र मल्लाज स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले सेवा दिएका थिए । आँखा परीक्षण, परामर्श र मोतियाविन्दुको शल्यक्रिया सेवा दिइएको हो । दुई सय पुरुष र ३१५ महिलाले सेवा लिएका छन् ।

आठ महिला र नौ पुरुषको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । रु ३४ हजार ८४१ बराबरको औषधि र ६० हजार मूल्य बराबरका ३०० थान चश्मा निःशुल्क वितरण गरिएको क्लबका रवीन्द्र कँडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button