तपाईँ सुन्दै हुनुहुन्छः

सुकुटे बस दुर्घटना : शोकमा काटाकुटी गाँउ

दुर्घटनामा मृत्यु भएको कविता राउतको आमा लगायत शोकाकुल परिवार र गाँउलेहरु

दोलखा ।  दोलखा सदरमुकाम चरिकोटको कालिञ्चोक माविबाट भर्खरै एजुकेशन साईन्समा उत्कृष्ठ अङ्क सहित १२ कक्षा सकेकी कविता राउतको लक्ष्य सरकारी जागिर खाएर अधिकृत बन्ने थियो ।

सरकारी जागिरको लागि तयारी कक्षा लिने र स्नातक तहको पढाईको लागि सानोठिमी क्याम्पस भक्तपुरमा भर्ना हुने लक्ष्य सहित काटाकुटी घरबाट आईतवार विहान हासीखुशी बस चढेकी कविताको अधिकृत सपना सुकुटेमा डुबेको बससंगै सकिएको छ ।

 

आईतवार विहान छोरीलाई हासीखुशी विदा गर्नु भएको कविताको आमा अम्बिका राउत बस दुर्घटनामा छोरीको मृत्यु भएको खबर सुनेदेखि छिन छिनमा बेहोस हुने गर्नु हुन्छ मृतक कविताको फुपु सरस्वती राउतले भन्नु भयो – ‘तर के गर्नु अब जति पिर गरेपनि हाम्रो फुलजस्तै हसिली नानी फिर्ता आउदिनन् ।’

दुर्घटनामा मृत्यु भएका रिकेश खड्का ६४ बर्षिय हरिबहादुर खड्काको एक्लो छोरा हुन् । दुईवटा विवाहबाट समेत बालबच्च नभएपछि तेसो विवाह गरेका हरिबहादुरको ५० बर्षको उमेरमा जन्मीएको एक्लो छोराको समेत दुर्घटनामा मृत्यु भएपछि उनी पाको उमेरमा अघात पीडा सहित छटपटाई रहेका छन् ।

आईतवार सिन्धुपाल्चोकको सुकुटेमा भएको यात्रुवहाक बस दुर्घटनामा परी काटाकुटीकोमात्र ९ जनाको मृत्यु भएपछि शोकमग्न काटाकुटी गाँउ सुनसान बनेको छ । गाँउका धेरै मानिसहरु दुर्घटना स्थल सिन्धुपाल्चोक गएका छन् त्यसैले शोकमग्न यो गाँउ सुनसान जस्तै बनेको छ – काटाकुटीका स्थानिय ६९ बर्षिय बिर्खबहादुर खत्रीले भन्नु भयो ।

दुर्घटनामा ९ जनाको मृत्यु भएको दोलखाको काटाकुटी गाँउ

आईतवार विहान सबेरै कविता लगायतका गाँउलेहरु हाँसीखुशी परिवारसंग विदा माग्दै काठमाडौँ यात्राको लागि बसमा चढेको देखेका बिर्खबहादुर नौ जनाको मृत्युको खबरले सिंगो गाँउ शोकमा डुबेको बताउनु हुन्छ ।

आईतवार विहान ८ः३० बजे शैलुङ गाँउपालिका वडा नम्बर ४ बागखोरबाट काठमाडौँको लागि छुटेको शैलुङ यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे सडक खण्डबाट सुनकोशी नदिमा खसेर दुर्घटना हुँदा वडा नम्बर ५ काटाकुटीको ५२ बर्षिय चेतकुमारी वस्नेत, उनको भदा १४ बर्षिय रिकेश खड्का, ४५ बर्षिय रत्नकुमारी राउत, उनको छोरा २९ बर्षिय किरण राउत, २० बर्षिय कविता राउत, ३८ बर्षिय सानु राउत आले, २४ बर्षिय रञ्जीता केसी वस्नेत, ३२ बर्षको निर्मला खड्का र १४ बर्षको निकेश खड्का सहित ९ जनाको मृत्यु भएको वडा नम्बर ५ का वडा अध्यक्ष किरण वस्नेतले बताउनु भयो ।

दुर्घटनामा शैलुङ गाँउपालिका वडा नम्बर ४ को ६ बर्षको सलिना तमाङ, १४ बर्षको दियुन लामा (दिल) र ५ बर्षको सजिना तमाङ गरी तीन जना, वडा नम्बर ३ बागखोर माईति भएको २७ बर्षको चमेली श्रेष्ठ (घर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका वडा नम्बर ४), उनको छोरी ६ बर्षको सायरानी श्रेष्ठ र वडा नम्बर ३ कै तीन महिनाको बालक सिसन तमाङ सहित तीन जना, वडा नम्बर २ को ७० बर्षको उरमाया मोक्तान, चितवन जिल्लाको पटीहानिको ५६ बर्षिय पुजा वस्नेत र उदयपुर जिल्ला चौरण्डी नगरपालिका वडा नम्बर ६ को २३ बर्षिय विजय तमाङ गरी जम्मा १८ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनु भयो ।

दुर्घटनामा १५ जनाको घटना स्थलमै, दुई जनाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र एक जना उदयपुरका विजय तमाङको शव सोमवार दुर्घटना स्थल भन्दा केहि तल भेटिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनु भयो ।

शैलुङ गाँउपालिकामा रहेको बागखोर उद्योग बाणिज्य संघका सचिव कमल श्रेष्ठ बस समितिले कच्ची बाटोमा पुरानो बस राख्ने, थोरै संख्यामा बस राख्ने र क्षमता भन्दा बढी यात्रु राख्ने गरेको कारण दुर्घटना हुने गरेको उल्लेख गर्दै सरकारले त्यस्ता समिति र बसका चालक तथा साहुलाई कार्वाहि गर्नु पर्ने बताउनु हुन्छ ।

यही काउन्टरबाट छुटेको थियो बस ।

मृतकहरुको शव सोमवार पनि सिनधुपाल्चोकको बाह्रविसेमै राखिएको छ । मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाईतेको उपचार खर्चको विषयमा सहमति हुन नसकेपछि दाहसंस्कार हुन नसकेको दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ५ काटाकुटीका वडा अध्यक्ष किरण वस्नेतले बताउनु भयो । मृतकको परिवारको तर्फबाट सोमवार बाह्रविसे इलाका प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाउदै मृतकको परिवारलाई प्रति व्यक्ति २० लाखको दरले क्षतिपूर्ति दिनु पर्ने, पुरानो बस र क्षमता भन्दा बढी यात्रु बोक्ने बस समिति तथा बसका स्टाफलाई कार्वाहि गर्नु पर्ने, घट्नाको छानविन गर्नु पर्ने लगायतको माग गरिएको दोलखा शैलुङ गाँउपालिकाका अध्यक्ष भरत दुलालले बताउनु भयो । दुर्घटनामा शैलुङ गाँउपालिकाकोमात्र १६ जनाको मृत्यु भएकोले सोमवार गाँउपालिकामा विदा दिईएको अध्यक्ष दुलालले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button