तपाईँ सुन्दै हुनुहुन्छः

गरिबी निवारणका लागि काम गर्न स्थानीय तहलाई अर्थमन्त्रीको निर्देशन


भद्रपुर। अर्थमन्त्री डा. युवराज खतिवडाले गरिवी निवारणका कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । सत्तारुढ नेकपा झापा, स्थानीय तह परिचालन विभागले बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको तीनदिने प्रशिक्षण कार्यक्रममा नेकपा निकटका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै अर्थमन्त्री खतिवडाले त्यस्तो निर्देशन दिनुभएको हो ।

‘मुलुकको समृद्धिको यात्राका लागि चरम् गरिबीको अन्त्य पहिलो शर्त हो’ भन्दै उहाँले कृषि उत्पादन बढाउने गरी भूउपयोग नीति बनाउन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

सीप, प्रविधि र पूँजीको परिचालनमार्फत उत्पादकत्व बढाउनुपर्ने भन्दै अर्थमन्त्री डा. खतिवडाले तल्लो तहका सरकारले गरिवी अन्त्यका लागि योजना बनाउनुपर्ने बताउनु भएको छ । उहाँले आफ्नो स्थानीय तहलाई आत्मनिर्भर र समृद्ध बनाउने योजनाका साथ अघि बढ्न जनप्रतिनिधिलाई निर्देशन दिनु भयो ।

स्थानीय माग र आवश्यकताका आधारमा आफ्नो तहलाई आत्मनिर्भर बनाउने दायित्व जनप्रतिनिधिकै भएको बताउँदै उहाँले यस विषयमा सबै जनप्रतिनिधि सचेत बन्नुपर्ने बताउनु भयो ।
अर्थमन्त्री डा. खतिवडाले आर्थिक विकास र समृद्धिका लागि विश्व समुदायको मन जित्ने प्रयासमा रहेको भन्दै नेपालको वित्तीय सङ्घीयताको कार्यान्वयनबाट अन्तर्राष्ट्रिय समुदाय पनि सन्तुष्ट रहेको उल्लेख गर्नुभयो ।
श्ुक्रबारसम्म चल्ने कार्यक्रममा उपप्रधान तथा रक्षामनत्री एवम् नेकपा स्कूल विभाग प्रमुख ईश्वर पोखरेल, बेदुराम भुषाल र देवेन्द्र पौडेलले पनि प्रशिक्षण दिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button