तपाईँ सुन्दै हुनुहुन्छः

शव जलाउनेहरुको सेवा सुविधा बढ्यो, आन्दोलन फिर्ता

काठमाडौं, ६ कात्ति । पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव जलाउनेलगायतका कार्यमा संलग्न घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको छ ।
सेवा केन्द्रका कर्मचारीहरुले सेवा सुविधा वृद्धिको माग गर्दै बुधबार बिहानबाट शव दाहलगायतका सबै काम बन्द गर्ने घोषणा गरेका थिए ।

उनीहरुको आन्दोलनबाट शव दाह नै रोकिनसक्ने भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्तामा उनीहरुको सेवा सुविधा वृद्धि गर्ने सहमति भएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो ।
एउटा शव जलाएवाफत पाउने १२ सय रुपैयाँबाट १५ सय र औषधि उपचार खर्च पाँच हजारबाट १५ हजार रुपैयाँ बनाइदिएको ढकालले बताउनुभयो ।
यसका साथै अवकास पाउँदा उपदानवाफत् पाउने डेढ लाख रुपैयाँबाट पाँच लाख रुपैयाँ पुर्‍याउने र दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सहमति पनि भएको सदस्य सचिव ढकालले जानकारी दिनुभयो । यससँगै आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button