तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा विभिन्न मुद्दामा दोषी ठहरी सजाय पाएका तिन हजार छ सय २१ जना फरारको सूचीमा

भैरहवा – रुपन्देही जिल्ला अदालतमा २०३४ सालदेखि २०७६ भदौ मसान्तसम्म विभिन्न मुद्दामा दोषी ठहरी सजाय पाएका तिन हजार छ सय २१जना अदालतको फरार सूचीमा छन् ।

अदालतको फरार सूचीमा डाकाचोरी, मानव बेचविखन, लागूऔषधलगायतका मुद्दामा सजाय पाएका तिन हजार पाँचसय ५२ जना नेपाली र ३७ जना विदेशी रहेका छन् । अदालतका अनुसार फैसला भई सजाय पाएका एकहजार नौ सय ८४ मुद्धाका यति धेरै संख्यामा व्यक्ति फरार भएका हुन् ।

उच्च अदालत र सर्वोच्च अदालतबाट कैद जरिवाना लागेका व्यक्तिहरु रुपन्देही जिल्ला अदालतको रेकर्डमा तिन हजार छ सय २० जति रहेको श्रेष्तेदार नेत्र प्रसाद भुसालले बताउनुभयो ।

ती फरार व्यक्तिहरुको कैद जरिवाना असुल उपरको लागि उनीहरुको विवरण स्थानीय तह, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय तथा विभिन्न प्रहरी युनिटमा पठाइएको छ, ती कार्यालयमा प्रभाव हुने सेवामा कैद जरिवाना लागेका व्यक्तिहरु आएमा असुल उपर गर्नको लागि यस अदालतमा पठाइदिनको लागि कानूनी व्यवस्था रहेको छ, भुषालले भन्नुभयो ।

कतिपय व्यक्ति अदालतको सम्पर्कमा आएर सजाय भोगिसकेको तथा असुल उपरसमेत भएको अदालत तथा प्रहरी प्रशासन तदारुकताका साथ असुल उपर गर्न लागि परेको रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार नेत्र प्रसाद भुसाल बताउनुहुन्छ ।

अदालतका तहसिलदार कृष्ण प्रसाद पौडेलले जरिवाना र कैद तोकिएका फरार व्यक्तिहरुका सूची जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र सबै स्थानीय तहमा पठाएको बताउनुभयो । प्रहरी र अदालतको समन्वयमा उनीहरुलाई समात्ने काम हुने पौडेल बताउनुहुन्छ ।

अधिवक्ता धर्म खड्का फरार व्यक्तिहरुलाई अदालतले तोके बमोजिम दण्ड÷जरिवाना असुल उपर गर्नको लागि छुट्टै कमिटी निर्माण गर्नुपर्ने बताउनुहुन्छ । उहाँले अदालतमा रहेका विभिन्न फांट र इकाइहरु आफ्नै काममा व्यस्त हुने भएकोले फरार व्यक्तिहरुको संख्यामा कमी आउन नसकेको बताउनुभयो । अदालत भित्र फैसला कार्यान्वयन गर्ने तहसिलदार भए पनि त्यो बाहेक छुट्टै समिति बनाए सम्भवत धेरै फरार व्यक्तिहरुको दण्ड÷असुल उपर हुने उहाँको भनाई छ ।

रुपन्देही जिल्ला अदालतको तथ्यांक अनुसार २०३१–०४० सम्म २ वटा फैसला कार्यान्वयन गर्न बाँकी छन् । त्यस्तै, ०४१–०५० सम्म ९, ०५१–०६० सम्म ४ सय २३, ०६१–०७० सम्म १ हजार ३६, ०७१–०७४ सम्म ५ सय ८१ तथा ०७५–०७६ को भदौ मसान्त सम्म १ सय ३२ फैसला कार्यान्वयन हुन सकेका छैनन् । यी सबै फैसलाका गरी ३ हजार ६ सय २१ व्यक्ति फरार सूचीमा छन् ।

भारतसंग सीमा जोडिएकाले रुपन्देहीमा अदालतबाट सजाय पाएका यस्ता व्यक्ति सजिलै भारतीय भूमिमा गएर बस्ने गरेका छन् । जुनसुकै ठाउँमा बसे पनि सजाय पाएको व्यक्ति माथि कारवाही हुने अदालतले जनाएको छ । अदालतले दिएको जानकारी अनुसार एक महिना सजाय पाएका देखि, जरिवानामा परेका र जन्मकैद सम्म सजाय पाएका व्यक्ति फरार सूचीमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button