तपाईँ सुन्दै हुनुहुन्छः

एनआरएनः नवौं विश्व सम्मेलन शुरु

भुवनप्रसाद आचार्य । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन आजदेखि काठमाडौमा शुरु भएको छ ।

सम्मेलन उद्घाटन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा आवद्ध भएर सहयोग गर्न गैर अवासीय नेपालीहरुलाई आग्रह गर्नु भयो ।

राष्ट्रपति भण्डारीले नेपालमा राजनीतिक स्थायित्वसँगै अघि बढेको आर्थिक सम्वृद्धिको अभियानमा सहयोग गरेर जन्मभूमिप्रतिको जिम्मेवारी पूरा गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भयो ।

राष्ट्रपति भण्डारीले गैर आवासीय नेपालीहरुलाई नेपालसँग जोडीराख्न सरकारले गैर आवासीय नेपालका लागि नागरिकताको कानुनी व्यवस्था गरेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गैर आवासीय नेपालीहरुको ज्ञान र सीपको प्रयोग गर्न सरकारले परराष्ट्र मन्त्रालयमा ‘ब्रेन गेन सेन्टर’ स्थापना गरेको बताउनु भयो । उहाँले मुलुकको आर्थिक विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेले नेपालको आर्थिक विकासमा नीजि क्षेत्र र गैर आवासीय नेपाली मिलेर अघि बढ्नु आवश्यक रहेको बताउनु भयो ।

तीन दिनसम्म चल्ने सम्मेलनबाट गैर आवासीय नेपाली संघको आगामी नयाँ नेतृत्व समेत चयन हुनेछ ।

सम्मेलनमा ८१ राष्ट्रबाट २५ सय जना गैर आवासीय नेपालीको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button