तपाईँ सुन्दै हुनुहुन्छः

एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता

मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता पाउँने भएका छन् ।

एकल महिलाले झैँ एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउँने भएका हुन् । पालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट भत्ता दिने निर्णय गरेको हेलम्बु गाउँपालिकका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

एकलल पुरुषले अब मासिक ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो । एकल पुरुष भत्ताका लागि चालु आर्थिक वर्षमा पालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । ‘राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिक रूपमा नै पनि कार्यान्वयनमा ल्याउनका लागि सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका हौँ’ अध्यक्ष शेर्पाले भन्नुभयो । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये हेलम्बु कम आन्तरिक आय भएको गाउँपालिकामा भएको समेत उहाँको भनाइ छ ।

गत आर्थिक वर्षमा ४० लाख आन्तरिक आम्दानी गरेको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिनुभयो । हेलम्बुले यस आर्थिक वर्षमा ६१ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको समेत बताउनुभयो ।

वृद्धभत्ता लिइरहेका एकल पुरुषको हकमा भने एकल भत्ता लिन नपाउँने व्यवस्था गरेको छ । सरकारी तर्फबाट दोहोरो सुविधा नपाउने भएकाले यस्तो व्यवस्था पालिकाले गरेको हो । हाल पालिका भित्रका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भइरहेको पालिकाले जनाएको छ । करिब ३ सय ५० एकल पुरुष रहेको अनुमान गरिएको पालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button