तपाईँ सुन्दै हुनुहुन्छः

बेँसीशहर बजार सडक बत्तीले झिलिमिली

लमजुङ-पर्यटकीय जिल्ला लमजुङको सुन्दर नगरी एवं अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेँसीशहर बजारलाई उज्यालोको माध्यमबाट सुरक्षित बजार बनाउनका लागि सडक बत्ती जडान गरी झिलिमिली बनाइएको छ ।

बेँसीशहर नगरपालिकाले बजार सुरक्षित राख्नका लागि बजारका विभिन्न स्थानमा २५३ वटा बिजुली बत्तीको व्यवस्था भएसँगै बेँसीशहर बजार उज्यालो भएको हो ।

आइतबार बेँसीशहर भीमसेनस्थान चोकमा एक कार्यक्रममा बीच नगरप्रमुख गुमानसिंह अर्यालले उद्घाटन गरी सडक बत्ती सञ्चालनमा आएको छ । उहाँले पर्यटकीय बजारमा चोरीका घटना बढ्दै गएकाले विशेष गरी राति हिँड्डुल गर्नलाई असुरक्षित हुने गरेकाले नगरवासी र पर्यटकलाई मध्यनजर गरेर सडक बत्ती जडान गरी सञ्चालनमा ल्याएको बताउनुभयो ।

अहिले जडान गरी सञ्चालनमा आएका बत्तीले सबै ठाउँमा नपुगेको र अपुग बत्ती यस आर्थिक वर्षको बजेटबाट खरीद गरी थप जडान गर्ने तयारीमा रहेको नगर प्रमुख अर्यालले बताउनुभयो । वडा नम्बर ८ का वडाध्यक्ष पवित्र थापामगरले बजारलाई थप सुरक्षित र उज्यालो बनाउनका लागि सडक बत्तीले ठूलो सहयोग पुगेको बताउनुभयो ।

आव २०७४÷७५ बजेटबाट रु ५० लाखमा उक्त सङ्ख्यामा सडक बत्ती जडान गरी सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । बजारको शेरा, ठाडोलाइन, नारायस्थान, भीमसेस्थान, त्रिवेणीटोल, क्याम्पस रोडलगायतका स्थान सडक बत्तीबाट उज्यालो भएको छ ।

साँझपखमै अँध्यारो हुने बजारमा सडक बत्ती जडान गरेपछि स्थानीय खुशी भएका छन् । चोरी, बलात्कार, अपराधजन्य घटनामा कमी आउने र शान्ति सुरक्षामा ठूलो टेवा पुग्ने जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले बताउनुभयो ।

बेँसीशहर बजारमा एक वर्ष अघि २४ वटा सौर्यबत्ती जडान गरिएको थियो तर उक्त बत्ती अपर्याप्त र जडान भएको केही समयमै अधिकांश बिग्रिएको थियो । अहिले जडान गरिएको सडक बत्ती दिगो हुने र सौर्यबत्तीभन्दा राम्रो भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button