तपाईँ सुन्दै हुनुहुन्छः

मानवसेवा आश्रमलाई एक करोड सहयोग उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

भक्तपुर –प्रधानमन्त्री के पी शर्मा ओलीले अब देशमा कोही पनि सडक मानव र सडक बालबालिका रहन नहुने बताउनुभएको छ ।

मानवसेवा आश्रम भक्तपुर शाखाको आज उद्घाटन गर्दै प्रधानमंत्री ओलीले देशमा कही पनि सडक मानव र सडक बालबालिका रहन नदिने यस अभियानलाई पूरा गर्न देशका सबै स्थानीय तह लगायत सरोकारवाला सबैलाई लाग्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सबैको सहयोग र सहकार्यबाट यसबाट देशलाई छिट्टै नै मुक्त बनाउन सकिने बिश्वास ब्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले फेसबुक लगायतका सामाजिक सञ्जालबाट नकारात्मक टिप्पणी लेखेर समय खेर फाल्नुभन्दा मानवसेवा आश्रमजस्ता संस्थाले सुरु गरेका सकारात्मक काममा लागेर देशको मुहार बदल्ने काममा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

त्यस अवसरमा प्रधानन्त्री ओलीले सडक मानव तथा सडक बालबालिका मुक्त देश बनाउने अभियानमा सरकारसंग सहकार्य र सहयोग गर्दै आएको संस्था मानवसेवा आश्रमलाई अभियान सञ्चालनका लागि रु १ करोड  सहयोग उपलब्ध गराउने घोषणा पनि गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री महेश बस्नेतले अब कोही पनि सडकमा जीवन गुजारा गर्नुपर्ने अवस्था देशमा नरहने बताउनुभयो ।

त्यस अवसरमा काठमाडौँ महानगरपालिकाका मेयर बिधासुन्दर शाक्य र मध्यपुर थिमी नगरपालिकाका उपमेयर अन्जना मधिकर्मीले अभियानलाई सफल बनाउन आफूहरु सदैव साथमा रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button