तपाईँ सुन्दै हुनुहुन्छः

मनसुन अझै दश दिन कायम रहने  

काठमाडौँ – नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने सङ्केत देखिएको छ । यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन यो दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि अहिले नै बाहिरिने सङ्केत भने देखिँदैन । मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन शुरु हुनुपर्छ ।

अहिले पनि मनसुन सक्रिय रही सामान्य वर्षा भइरहेकाले मनसुन अझै हप्ता÷१० दिनसम्म कायम रहने सङ्केत देखिएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मनसुन सधैँ एकै समय सकिन्छ भन्ने हँुदैन मनसुन औसतमा सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो । कहिले त्योभन्दा अगाडि र पछाडि हुन्छ ।” पछिल्लो केही वर्षको तथ्याङ्क हेर्दा नेपालमा सेम्टेम्बरमा मनसुन नसकिएर अक्टोबरसम्म पुग्ने गरेको छ । यस वर्ष पनि सेप्टेम्बरमा नसकिएर अक्टोबरसम्म पुग्ने सङ्केत देखिन्छ ।

विगत १८ वर्ष अवधिको मौसमी तथ्याङ्क हेर्दा नेपालमा पाँच वर्ष मात्र जुन १० अघि मनसुन प्रवेश गरेको छ भने अरू वर्ष ढिला नै प्रवेश भएको छ । मनसुन कायम रहने मिति पनि पछाडि धकेलिँदै गएको छ । मौसमविद्हरुले यसलाई पनि जलवायु परिवर्तनको असर हो भनेका छन् ।

मनसुन प्रवेश गर्ने र कायम रहने मितिमा आएको परिवर्तनले खासगरी कृषिमा असर पारेको छ भने मानिसको जीवनशैलीलाई पनि प्रभावित तुल्याएको छ । वरिष्ठ मौसमविद् कँडेल भने यसमा जलवायु परिवर्तनको प्रभावबारे निक्र्याेल गर्न वैज्ञानिक अध्ययन नै गर्नुपर्ने सुझाउनु हुन्छ ।

मौसमी तथ्याङ्क हेर्दा सन् २००२ बाहेक सबै वर्ष मनसुन औसतभन्दा ढिलासम्म सक्रिय रहेको छ । सन् २०१३ मा त नेपालमा अक्टोबर १९ सम्म मनसुन सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेल बताउनुहुन्छ । नेपालमा मुख्यगरी मनसुन बङ्गालको खाडीबाट प्रवेश गर्छ । केही मात्रामा अरेबियन सागरबाट समेत प्रवेश गर्ने गरेको छ । नेपालमा हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्य सागरबाट प्रवेश गर्ने गरेको विभागका वरिष्ठ मौसमविद् कँडेल बताउनुहुन्छ ।

उहाँका अनुसार नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महीनामा मनसुनको समयमा कूल वर्षाको ८० प्रतिशत वर्षा हुन्छ । यसैगरी प्रि मनसुनको समय (मार्चदेखि मेसम्म) मा करीब १२, मनसुनपछि (अक्टोबर र नोभेम्बर) चार र हिउँद् (डिसेम्बरदेखि फेब्रुअरी) तीन दशमलव पाँच प्रतिशत वर्षा हुने गरेको छ ।

हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केही उत्तरतर्फ सरेको छ । भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापीय प्रणाली रहेको छ । अर्को न्यून चापीय प्रणाली भारतको उत्तर प्रदेशमा रहेको छ । हाल नेपालमा अरब सागर र बङ्गालको खाडीबाट आइरहेको जलवाष्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केही सक्रिय रहेको महाशाखाले जनाएको छ ।

आगामी मङ्गलबारसम्म देशभरका मौसम सामान्य बदली रहने र पूर्व र मध्यका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button