तपाईँ सुन्दै हुनुहुन्छः

गढीमाईको संरक्षण र सम्बद्र्धनका लागि सरकारको पहलकदमी आवश्यक : राष्ट्रपति भण्डारी

बीरगंज – राष्ट्रपति विद्यादेवी भण्डारीले एशियामै सबै भन्दा बढी पशु बली चढ्ने शक्तिपिठको रुपमा रहेको गढीमाई मन्दिरको संरक्षण र सम्बद्र्धनका लागि सरकारको पहल आवश्यक रहेको बताउनुभएको छ ।

गढीमाई मेलाको अवसरमा आइतबार निस्किएको बृहत शोभा यात्रालाई टेलिफोन मार्फत सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले गढीमाई मन्दिरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सरकारको ध्यान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गढीमाई आउने दर्शनार्थी, भक्तजनहरुका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार तथा स्वास्थ्यलाई मध्यनजर गर्दै सो स्थानमा अस्पतालको निर्माण गर्न राष्ट्रपति भण्डारीले सरकारको ध्यानाकर्षण गराउनुभयो । फरक प्रसंगमा राष्ट्रपति भण्डारीले बारा, पर्सा जिल्ला उर्वर भुमि भएकोले किसानहरुका लागि सिंचाई, मल, विउको उचित व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै अब कृषिको व्यवसायीकरणबाटै मुलुक समुन्नतिको दिशामा अगाडि बढने बताउनुभयो ।

राष्ट्रपति भण्डारी विहान हेलिकप्टरमा गढीमाई मन्दिर आउने कार्यक्रम रहेपनि लगातारको बर्षा र मौसममा आएको खराबीको कारण अन्तिम समयमा आएर भ्रमण रद्द भएको थियो । मौसमको कारण गढीमाई आउन नसकेपछि राष्ट्रपति भण्डारीले टेलिफोन मार्फत् शोभा यात्रलाई सम्बोधन गर्नुभएको हो । राष्ट्रपतिको सम्बोधन पछि शोभा यात्रा निस्किएको थियो ।

शोभा यात्राको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साह, सांसद रामबाबु यादव, रामसहाय यादव, प्रदेश सभा सदस्य रमेश यादव, महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादवले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको थियो ।

पशुबलिका लागि एशियामा प्रख्यात पञ्चवर्षीय गढीमाई मेलाको शोभा यात्रा घटस्थापनाको अवसर पारेर निकाल्ने चलन रहेको छ ।

शोभा यात्रामा दर्जनौं हात्ती, घोडा, स्थानीय जातजातिहरुका आ–आफ्नो पहिचान झल्कने बाजा, झाँकी, जुलुस, किर्तन गाईएको थियो । शोभा यात्रामा सहभागी हुनका लागि बारा, पर्साको विभिन्न गाँउबाट हजारौको संख्यामा भक्तजनहरु गढीमाई पुगेका थिए ।

मेला भने आउँदो मंसिरदेखि लाग्ने भएको छ । मेलामा मनोकांक्षा पूरा हुने विश्वासमा ठूलो संख्यामा पशुपंक्षीको बलि दिने प्रचलन रहेको छ । मेलामा छिमेकी मुलुक भारत र नेपालबाट लाखौं भक्तजनहरु मेला भर्न आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button