तपाईँ सुन्दै हुनुहुन्छः

२०२० मा ६.३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने एडीबीको प्रक्षेपण

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालको अर्थतन्त्र सन् २०२० मा ६.३ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ ।

बैकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा सार्वजनिक खर्चमा वृद्धि, अनुकुल मौसम, ठूला परियोजनामा लगानी र पर्यटक आगमनमा वृद्धि भएमा नेपालको अर्थतन्त्र सोचे भन्दा बढी अंकले विस्तार हुन सक्ने एडीबीले प्रक्षेपण गरेको हो ।

एडीबीको नेपाल इकनोमिक अपडेटमा नेपालमा तीन तहको सरकारले गर्ने खर्चमा वृद्धि, निजी लगानीको विस्तार तथा सार्वजनिक खर्चको सहि परिचालनले नेपालको अर्थतन्त्र अझै विस्तार हुने आंकलन गरेको हो ।

बाढी पहिरोका कारण धान बालीमा क्षति पुगेकाले कृषि क्षेत्रको बृद्धिदर सुस्त भएपनि उद्योग क्षेत्रमा बिजुली आपूर्तिमा हुने सुधारले पूर्वाधारमा फड्को मार्ने बैंकको विश्वास छ ।

यस वर्ष नेपालको औद्योगिक विस्तार ७.९ प्रतिशत तथा सेवा क्षेत्र ६.९ प्रतिशत विस्तार हुने अनुमान एडिबिले गरेको छ ।

गत वर्ष ७.१ प्रतिशत आर्थिक विस्तार भएको अनुमान गरेको नेपाल सरकारले चालु आर्थिक वर्ष ८.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

एडीबीले आर्थिक वृद्धिदरसँगै मूल्य वृद्धि पनि बढ्ने प्रक्षेपण गरेको छ । गत वर्षमा ४.६ प्रतिशत मूल्य वृद्धि भएकोमा सन् २०२० मा बढेर ५.५ प्रतिशत पुग्ने उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button