तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीले नै खसीबोका बिक्री गर्दै

नवलपुर । दशैँ नजिकिँदै गर्दा खसीबोका खरीदका लागि व्यापारी तथा सर्वसाधारण नवलपुर आउन थालेका छन् । यहाँका विभिन्न सहकारीले किसानबाट खसीबोका खरीद गरी बिक्री गर्न थालेसँगै उनीहरु नवलपुर आएका हुन् ।

बुटवल, चितवन, पोखरा, काठमाडौंलगायत स्थानबाट व्यापारी खसीबोका खरीद गर्न यहाँ आएका छन् । यहाँका सहकारीले सङ्कलन केन्द्र खोलेका छन् । ‘खसीबोका सस्तोमा पाउने भएपछि केही वर्षदेखि नवलपुरबाटै खसीबोका किन्ने गरेको छु’, चितवनबाट खसी खरीदका लागि आउनुभएका व्यापारी सुनिल तिवारीले भने । नवलपुरको पहाडी क्षेत्र बाख्रापालनको पकेट क्षेत्रका रुपमा चिनिन्छ । यस वर्ष बाख्रा पकेट क्षेत्रका रुपमा विभिन्न क्षेत्रका कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

हुप्सेकोटको झ्यालबासस्थित लेकबेँसी सामाजिक उद्यमी महिला सहकारीले रु दुई करोड ५० लाखभन्दा बढीको खसीबोका बिक्री गर्ने लक्ष्य लिएको छ । विजयादशमीमा सहकारीले करीब दुई हजार खसीबोका बिक्री गर्ने गरी सङ्कलन केन्द्र सञ्चालनमा ल्यएको छ । सहकारीले सङ्कलन केन्द्रमा रहेका खसीबोकमालाई जिल्लाका विभिन्न बजारसँगै चितवन, बुटवल, पोखरा, काठमाडौ पठाउँदै आएको व्यवस्थापक सुशीला परियारले बताए । हामीले पाँच वर्र्षदेखि खसीबोका किसानबाट सङ्कलन गरी बिक्री गर्दै आएका छौँ’, उनले भने ।

सहकारीले अहिले प्रतिकिलो रु ४९० का दरले जिउँदो खसीबोकाको मासु बिक्री गरिरहेको छ । दशैँसम्म मूल्य बढेर रु ५१० सम्म पुग्ने उनले बताए । पहाडी क्षेत्रबाट धेरैजसो खसीबोका झ्यालबासको सङ्कलन केन्द्रमा ल्याउने गरिएको छ । गत वर्ष उक्त सहकारीले रु दुई करोड ८१ लाखको दुई हजार ९८६ खसीबोका बिक्री गरेको थियो । ‘यस वर्ष चार हजार खसीबोका बिक्री गर्ने लक्ष्य’, परियारले भने ।

यस्तै मध्यविन्दु नगरपालिका–१२ तमासपुरमा रहेको अरुणज्योति सामाजिक महिला उद्यमी सहकारीले समेत खसीबोका सङ्कलन गरी बिक्री गर्दै आएको छ । तीन वर्षदेखि तमासपुरमा खसीबोका तथा बाख्रा बिक्री केन्द्र स्थापना गरी सहकारीले खसीबोका बिक्री गर्दै आएको व्यवस्थापक सुमित्रा पाल्पालीले बताएका छन । बिचौलियामार्फत बिक्री गर्दा किसानलाई नाफा कम हुने र किसानले लगानी गरेअनुसार प्रतिफल पाउन नसक्ने अवस्था थियो । बिक्री केन्द्र स्थापना गरेर सोझै बिक्री गर्न थालेपछि किसानलाई नाफा भएको पाल्पाली बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button