तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय गन्तव्य : च्छो रोल्पा हिमताल

दोलखा- स्वीस सरकारको सहयोगमा दोलखा गौरीशङ्कर गाँउपालिकाको छेतछेतदेखि च्छो रोल्पा हिमतालसम्मको ४० किलोमिटर पदमार्ग पुर्ननिर्माण तथा स्तरोन्नती भएपछि उच्च हिमाली भेगमा रहेको पर्यटकीय गन्तव्य च्छो रोल्पा हिमताल पुग्न सहज भएको छ ।

पटक–पटक दोलखाको उत्तरी क्षेत्रको भ्रमण गर्नु भएका नेपालका लागि स्वीस राजदुत ऐलिजावेथ भोनकयापेलरले पदमार्ग पुर्ननिर्माण पछि नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम भिजिट २०÷२० मा उच्च हिमाली भेगमा रहेको धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्वको च्छो रोल्पा हिमपातमा धेरै स्वदेशी तथा विदेशी पर्यटक पुग्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

राजदुत ऐलिजावेथले पर्यटन विकास अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुहुर्दै विकासको नाममा प्राकृतिक सुन्दरता र धार्मिक एवं सांस्कृतिक संरचना विगार्न नहुने बताउनु भयो । धर्म र मानव विकास एक अर्कोसंग सम्बन्धित रहेको उल्लेख गर्नुहुदै उहाँले पर्यटन विकासको लागि प्राकृतिक सुन्दरता र धार्मिक एवं सांस्कृतिक महत्वको संरक्षण गर्नुपर्ने बताउनु भयो । उहाँले त्यसैको लागि स्वीस सरकारले पदमार्ग पुर्ननिर्माणमा सहयोग गरेको बताउनुभयो ।

चार हजार पाँच सय ८० मिटरको उँचाईमा रहेको दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ रोलवालिङमा अवस्थित च्छो रोल्पा हिमताल आजभन्दा झण्डै ६५ बर्ष अघि बनेको स्थानियको अनुमान छ ।

२०५३ सालतिर च्छो रोल्पा हिमताल फुट्ने हल्ला चलेपछि यसको चर्चा सुरु भएको हो । त्यस अघि यो हिमताललाई स्थानियले भगवानको प्रतिकको रुपमा पुजा गर्थे । च्छो रोल्पा हिमतालमा सुनको भाले र सेता हाँस रहेको जनविश्वास यद्धपि कायमै छ । झण्डै आधा किलोमीटर गहिराई र तीन किलोमीटर लम्बाईको यो हिमताल हिमालको काखैमा रहेको र वरपरबाट प्रशस्तै प्राकृतिक सुन्दरता समेत निहाल्न सकिने भएकोले पनि महत्वपूर्ण पर्यटकीय गन्तव्य बनेको छ ।

२०७२ सालको भुकम्पले च्छो रोल्पासम्म पुग्ने पदमार्ग क्षतिग्रसत बनेकोले पर्यटकहरुलाई यात्रामा असहज भएको थियो । स्वीस सरकारले विकेन्द्रीत ग्रामीण पुर्वाधार तथा जीविकोर्पाजन सुधार परियोजना/भुकम्प आपतकालीन सहायता आयोजना अन्र्तगत पुर्ननिर्माण तथा स्तरउन्नती गरिदिए पछि अहिले पर्यटक आगमनमा बृद्धि भएको स्थानिय बताउछन् । १० करोडको लागतमा पुर्ननिर्माण तथा स्तरोन्नती गरिएको पदमार्ग हालै नेपालका लागि स्वीस राजदुत ऐलिजावेथ भोनकयापेलरले जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको उपस्थितिमा गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण साहलाई हस्तान्तरण गर्नु भएको थियो ।

छेतछेत देखि च्छो रोल्पा हिमतालसम्मको पदमार्ग पुर्ननिर्माण तथा स्तरोन्नती गरिएपछि च्छो रोल्पा हिमतालसंगै गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ मै पर्ने सगरमाथा आरोहिहरुको गाँउ बेदीङ र सिमिगाँउमा पुग्न समेत पर्यटकहरुलाई सहज भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे बताउनु हुन्छ ।

गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण साह च्छो रोल्पासम्मको पदमार्ग पुर्ननिर्माण तथा स्तरउन्नतीको कामले भिजिट २०÷२० मा संरक्षण क्षेत्रमा पर्यटकको संख्या बढाउन सहयोग पुग्ने बताउनु हुन्छ । पदमार्ग पुर्ननिर्माण तथा स्तरोन्नतीको कामले गौरीशङ्कर संरक्षण क्षेत्रमा रहेको हिमचितुवा, रेडपाण्डा, याक, कस्तुरी जस्ता वन्यजन्तु तथा बिभिन्न प्रकारका वनस्पतिहरु अवलोकनको लागि आउने पर्यटकहरुलाई समेत सहज हुने संरक्षण क्षेत्र प्रमुख साह बताउनु हुन्छ ।

तस्विर सौजन्यः गणेश बिक्रम शाही

प्रतिक्रिया राख्नुहोस्

Back to top button