२०७९ साल असार १९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

नीजि जग्गामा भवन बनेपछि कोल्ड स्टोर अलपत्र

रोशन तिवारी २०७६ असोज ८ गते १३:४१

पर्वत – पर्वतको मोदी गाउँपालिका २ देउपूरमा नीजि जग्गामा सरकारी रकम प्रयोग गरी बनाईएको भवन अलपत्र परेको छ ।

तीन वर्ष अगाडी शित भण्डार (कोल्ड स्टोर) बनाउन उक्त भवन बनाईएको थियो । एकतला बनाएर छत ढलान गरेर सकिएको छ । मोदी २ देउपूरका वडाध्यक्ष विकास तिमिल्सिनाका अनुसार नीजि जग्गामा भवन बनेको उजुरी परेपछि सरकारले बजेट रोकेको हो । बजेट रोकिएपछि पछि बाँकी काम अगाडी बढ्न सकेको छैन ।

भवन बनेको जग्गा स्थानीय खेमबहादुर हमालको नाममा छ । तत्कालीन समयमा जग्गा धनीलाई पैसा नदिई सरकारी बजेटले धमाधम भवन निर्माण गरेपछि जग्गाधनीले मुल्य नमिलेकाले उपभोक्तालाई जग्गा नदिने अडान लिएपछि बिवाद बढेको हो ।

कोल्ड स्टोर बनाउन पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदाको बेला राजनीतिक पहुँचको आधारमा ५ करोड स्टिमेटसहित काम थालिएको थियो । नीजि जग्गामा भवन रहेकाले सरकारले बजेट रोकेपछि भवन निर्माणको काम पनि रोकिएको भवन निर्माण समितिका अध्यक्ष गंगा तिमिल्सिनाले बताउनुभयो ।

अहिले भवनको भुइँ तल्लामा सडक मर्मत गर्ने मजदूर बस्दै आएका छन् भने केही कोठामा स्थानियले घाँसपराल राख्ने स्टोरका रूपमा प्रयोग गरेका छन् । भवन बेवारिसे भएपछि तत्कालिन समय गरेको ढलान र प्लास्टरसमेत काम नलाग्ने भइसकेको छ ।

चिस्यान केन्द्रको निरन्तरताका लागि स्थानियले मोदी २ देउपुर, मोदी गाउँपालिका, प्रदेश र केन्द्रसम्म गुहारेका छन् । गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले भवन नीजि जग्गामा बनेका कारण बजेट रोकिएको र समाधानको उपाय खोजी भइरहेको बताउनुभयो । गाउँपालिकाले सार्वजनिक जग्गा खोजेर सरकारलाई वजेट पठाउन अनुरोध गर्ने तयारी गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।

मोदीको देउपुरमा मात्रै वर्षेनी ३ करोडको सुन्तला उत्पादन हुन्छ । सिजनमा ३० देखि ४० रुपैयाँ प्रतिकिलोका दरले बिक्री गर्नुपर्ने सुन्तला अपसिजनसम्म राख्न सके १ सय २० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने किसानले बताएका छन् । कोल्ड स्टोर बनेमा सुन्तला, आलु र तरकारी स्टोर गर्न सकिने स्थानीय कृषक दाताराम चापागाईले बताउनुभयो ।

सम्बन्धित