तपाईँ सुन्दै हुनुहुन्छः

बारबर्दिया सिकल सेल नियन्त्रणको नमूना अभियान

काठमाडौं ।विशेष गरी थारु समुदायमा पाइने ‘सिकल सेल’ एनिमिया रोग नियन्त्रण गर्न बर्दियाको एक नगरपालिकाले पहिलोपटक नमूना परियोजना शुरु गरेको छ । बारबर्दिया नगरपालिकाले आफ्नो नगरपालिकामा नेपालमै पहिलोपटक ‘सिकल सेल’ रोगसम्बन्धी अभियान सञ्चालन गरेको हो ।

थारु समुदायमा मात्र लाग्ने यो रोगका कारण कलिलो उमेरमै धेरैको मृत्यु हुने, रोगले घरका सबै परिवार नै थलिने र आर्थिकरुपमा पनि चरम अभाव झेल्ने गरेको देखेर यसका विरुद्ध अभियान थालेको थारुहरुले बताउँछन् । यस नगरपालिकाले २०७५ चैत ९ गतेदेखि यो अभियान शुरु गरेको हो । नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको रहेको यस रोग नियन्त्रणका लागि आफूले एक वर्षअघि नै अभियान शुरु गरेको बताउनुभयो ।

नगरपालिकाभित्र बसोवास गर्ने सबै थारु समुदायको घरघरमा गएर रगत परीक्षण गराइएको छ । नगर प्रमुख थारुका अनुसार एक वर्षमा २४ हजारभन्दा बढीको रगत परीक्षण भएको छ । यो अभियानअन्तर्गत नगरपालिकाभित्र रहेका एक वर्षदेखि २९ वर्ष उमेर समूहका व्यक्तिको रगत परीक्षा गरिएको थियो ।

रगत परीक्षणपछि अब दोस्रो चरणमा सामुदायिक परामर्श अभियान पनि सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट विज्ञ टोली झिकाई घरघरमा गएर परीक्षण गराइएको उहाँले बताउनुभयो ।

यसअघि लामो समयसम्म थारु समुदायमा मात्र यो रोग लाग्ने थाहा भइसकेको थिएन । अहिले पनि मानिस उपचारका लागि कहिले नेपालगञ्ज, काठमाडौँ, भारतको लखनउ र नयाँदिल्ली धाउनुपर्ने अवस्था छ । लामो समय उपचार गर्दा पनि रोग पत्ता नलागेका कारण सिकलसेल एनिमियाबाट पीडित व्यक्तिले लाखौँ रकम खर्च गर्नुपर्ने अवस्था थियो । अहिले नगरपालिकाले घरघरमै विज्ञको टोली पठाएपछि नगरवासी निकै खुशी भएका छन् ।

नगर प्रमुख थारु अहिले यसका बारेमा आफ्नो नगरपालिकाभित्रका विद्यालयमा पाठ्यसामग्री राखेर अध्यापन नै गराउने व्यवस्था गरिएको बताउनुहुन्छ । यस अभियानअन्र्तगत समुदायमा आधारित स्वास्थ्य जाँच, सिकल सेल जाँच गर्ने, रगत परीक्षण र स्वास्थ्य जाँचपछि समुदायमा आधारित परामर्श दिने गरिएको छ । । सिकल सेल एनिमिया रोगसम्बन्धी सचेतना बढाउन स्थानीय विद्यालयमा पाठ्यसामग्री तयार पारेर ९ र १० मा पढाइ नै शुरु गरिएको छ । नौ महीना पुगेपछि सबै बच्चालाई दादुरा खोप लगाउँदा अनिवार्य सिकल सेल परीक्षण गर्ने र नगरपालिकाभित्रका प्राथमिक स्वास्थ्य सेवा केन्द्रबाटै सिकल सेल एनिमिया रोगको उपचार शुरु गरिएको नगर प्रमुख थारुले जानकारी दिनुभयो ।

यस क्षेत्रका शिक्षक, स्वास्थ्यकर्मीलाई समेत सिकल सेलका बारेमा अभिमुखीकरण तालीम दिनेसमेत गरिएको छ । स्थानीय स्वास्थ्य केन्द्रमा नै यो रोगको परीक्षण गर्ने प्रवन्ध मिलाइएको नगरपालिकाले जनाएको छ । उहाँले विद्यालयको पाठ्यक्रममा नै यो विषयमा पढाउने व्यवस्था गरिएकाले अब आफ्नो नगरपालिकाभित्र धेरै हदसम्म यो रोग नियन्त्रणमा आउने आशा व्यक्त गर्नुभयो ।

तराईका २४ जिल्लामा थारु समुदायको बसोबास रहेको छ । राष्ट्रिय जनगणनाअनुसार नेपालमा थारु समुदायको जनसङ्ख्या १८ लाख जति छ । कुनैबेला यस क्षेत्रमा मलेरियाको ठूलो प्रभाव रहेको थियो । मलेरियासँग लडेर ४०÷५० पुस्तादेखि निरन्तर बसोबास गरेका थारु समुदायको कोषमा मलेरियासँग लड्दालड्दै नयाँ परिवर्तन आएको र जीवनमा आएको नयाँ परिवर्तनले ‘सिकल सेल एनिमिया’ को सङ्क्रमण भएको हुनसक्ने विज्ञको भनाइ छ ।

सिकल सेल एनिमिया भएका बिरामीबाट उनीहरुका सन्तानमा वङ्शाणुगतरुपमा सर्दै जाँदा यो अवस्था आएको हो । यदि आमाबुबा दुवै जनालाई सिकल सेल एनिमिया रोग लागेको खण्डमा बच्चामा यो रोग हुने पक्का हुन्छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जका प्रमुख डा श्यामसुन्दर यादवका अनुसार यो वंशाणुगतरुपमा सर्ने रक्तअल्पतासम्बन्धी रोग हो ।

स्वस्थ्य मानिसको शरीरमा हुने रक्तकोष गोलो हुन्छ तर सिकल सेल एनिमियाका बिरामीको रक्तकोष हँसिया आकारको हुन्छ । रक्तकोषको आयु सामान्यतया १२० दिन हुन्छ तर गोलो हुनुपर्ने रक्तकोष हासिया आकारको हुने र त्यो रगतमा दौडन नसक्ने हुँदा त्यस्ता बिरामीका रक्तकोष २०÷२२ दिनमै मर्छन् । शरीरका अङ्गमा अक्सिजन र पोषण पुग्दैन र त्यहाँको तन्तु मर्छ । त्यसपछि मांसपेशी, जोनी र छाती दुख्ने समस्या देखिन थाल्ने चिकित्सकहरु बताउँछन् ।

सिकल सेल एनिमिया रोगका रोगीमा देखिने प्रमुख समस्या भनेको शरीरमा रगतको कमी हुनु हो । कुनै सामान्य सङ्क्रमण हुँदा पनि अन्य बिरामीको तुलनामा बढी असर देखिने गर्दछ । समयमै उपचार नपाए बिरामीको मृत्युसम्म हुनसक्छ । यो रोगका कारण थारु समुदायमा थुप्रैको कलिलो उमेरमै मृत्यु भएको छ ।

बाँचुञ्जेल उपचार गरिरहनुपर्ने अवस्था रहने हुँदा सिकल सेल एनिमिया रोग थारु समुदायका लागि खतरा बनेको छ । भेरी अस्पतालका डा श्यामसुन्दर यादवका अनुसार सिकल सेल एनिमिया भए नभएको यकिन गर्न रगतको हिमोग्लोविन इलेक्ट्रोफोसिसको परीक्षण गर्नुपर्छ । सिकल सेल प्रभावित पश्चिम नेपालका सरकारी अस्पतालमा अझै यो सुविधा उपलब्ध छैन । महङ्गो शुल्क तिरेर काठमाडौँ वा भारतको नयाँदिल्ली, हरियाणाका निजी प्रयोगशालामा पठाउनुपर्छ ।

डा यादवका अनुसार सिकल सेल एनिमिया रोग भएका बिरामी पूर्णरुपमा निको हुन गाह्रो हुने भएपनि नियमितरुपमा औषधि सेवन गरेमा रोगलाई नियन्त्रणमा राखेर आयु लम्ब्याउन सकिन्छ । त्यस्ता बिरामीको स्वास्थ्य अवस्थाअनुसार एक महीनादेखि पाँच वर्षको अवधिमा नियमितरुपमा रगत चढाइरहनुपर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button