तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसमा हेटौंडामा भव्य कार्यक्रम

 मकवानपुर– संविधान दिवसको अवसरमा प्रदेश ३ सरकारको आयोजनामा शुक्रबार प्रदेश राजधानी हेटौंडामा भव्य कार्यक्रम आयोजना गरिएको छ ।

प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्रीहरु , राष्ट्रसभा तथा प्रतिनिधि सभामा सांसदहरु, प्रदेश सभाका सदस्यहरु, जिल्ल समन्वय समितिका प्रमुख, विभिन्न निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सहकारी, विद्यालयहरु, विभिन्न जातजातीका झाँकीहरुसहित हजारौं सर्वसाधारणहरुको सहभागितामा भएको ¥यालीले हेटौंडा बजारको परिक्रमा गरेर कार्यक्रममा परिणत भएको थियो ।

¥यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले नेपाली जनताको चाहाना र आकांक्षा अनुसार संविधान सभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको बताउनुभयो । उहाँले यस उपलक्ष्यमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ मनाउन उपस्थित भएका आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभयो । सम्बोधनमा उहाँले ऐतिहासिक संविधानसभाको निर्वाचन मार्फत जनताद्वारा निर्वािचन प्रतिनिधिहरुबाट संविधान निर्माण गर्ने नेपालीहरुको सदियौंदेखिको सपना पुरा भएको दिन सदा महत्वपुर्ण र अविस्मरणीय रहेको बताउनुभयो ।

“यस अवसरमा राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै ऐतिहासिक आन्दोलनहरुमा शहादात प्राप्त गर्नुहुने सम्पूर्ण शहिद तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्नु सरकारको परम कर्तव्य हुने ठानेको छु” उहाँले भन्नुभयो । उहाँले लोकतन्त्र, नागरिक अधिकार, स्वतन्त्रता र सामाजिक न्यायका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति श्रद्धासुमन व्यक्त गर्नुभयो । साथै मुख्यमन्त्री पौडेलले शहिदहरुका सपना पुरा गर्न अविराम अविचलित भई लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

वर्तमान संविधानले एकात्मक राज्यको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक र बह–ुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात गरेको उहाँको भनाई थियो । पौडेलले विविधता बिचको एकता, सामाजिक एवम् सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र  सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्दै सबै प्रकारका विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प समेत लिएका बताउनुभयो । उहाँले नेपालको संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्ने अठोट लिएको दावी गर्नुभयो । पौडेलले विश्वका धेरै मुलुकहरुका संविधान मध्ये नेपालको संविधान उत्कृष्ट संविधान रहेको कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

“नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित गर्दै यो संविधानले नागरिकका मौलिक हक र कर्तव्यलाई अक्षुण राखेको छ । विशेष गरी संविधानले राज्यका मार्ग निर्देशक सिद्धान्तका रुपमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई सर्वोपरी राख्दै नागरिक समानता र स्वतन्त्रताको संरक्षण गरी लोककल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने उद्देश्य लिएको छ । संघीय राज्य प्रणाली मार्फत राष्ट्रिय एकता सुदृढीकरण गर्न र सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न संविधानले मार्ग प्रशस्त गरेको छ” उहाँले भन्नुभयो ।

नेपालको संविधानले सदियौदेखिको एकिकृत राज्य संरचनालाई संघीय राज्य प्रणालीमा रुपान्तरण गरेको , राज्यका विभिन्न तहमा सरकारको निर्माण गरी शासनको बाँडफाँट गर्ने र निक्षेपणका माध्यमबाट जनतालाई बढीभन्दा बढी शासनमा सहभागी गराउने उद्देश्यले संविधानको अनुसूचीहरुमा विभिन्न तहका सरकारका एकल र साझा अधिकारका सूचीहरु निर्धारण गरिएको उहाँको धारणा थियो । उहाँले संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने गरी दिशानिर्देश गरेको बताउनुभयो । संविधानले सुनिश्चित गरेका मौलिक हकको कार्यान्वयनका लागि संघीय संसदले आवश्यक कानूनहरुको निर्माण गरिसकेको , प्रदेश सरकार र स्थानीय तहहरुले समेत आ–आफ्नो अधिकार सूची भित्रका विषयहरुमा कानून निर्माण गर्ने र त्यसको कार्यान्वयन गर्ने कामलाई प्राथमिकताका अगाडि बढाइ काम गरिरहेको उहाँको भनाई छ । नेपालको सन्दर्भमा संघीय राज्य प्रणाली नयाँ प्रयोग भएपनि यसको सफल अभ्यास मार्फत जनतालाई यथासम्भव उनीहरुको घर दैलो निकटबाट सेवा र विकासको प्रवाह गर्ने, प्रत्येक नागरिकलाई आफ्नो विकासको आवश्यकताको छनौट गर्ने अवसर प्रदान गर्ने, निक्षेपणको माध्यमद्वारा अधिकारको विकेन्द्रीकरणलाई जनस्तरसम्म पुर्याउने र सरकारका तहहरुबीचको स्वस्थ्य प्रतिष्पर्धा मार्फत समृद्धिलाई सुनिश्चित गर्ने जस्ता विश्वव्यापी मान्यताहरुलाई सार्थक तुल्याउन सरकारसँगै सबै राजनीतिक दल, निजीक्षेत्र, सहकारी, सामाजिक संघसंस्था र नागरिक समाजले हातेमालो गरी सहकार्यका साथ अघि बढ्नु अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो ।

“यो देश हामीले नै बनाउने हो । आजको यो क्षणसम्म आइपुग्दा हामीले आफैद्वारा निर्माण गरिएको संविधान मार्फत आफू शासित हुने लोकतान्त्रिक पद्धतिलाई स्थापित गरिसकेका छौ । अब हामी सबैको मेहनत राष्ट्र निर्माण, सुशासन र समृद्धिको लागि हुनुपर्दछ । तसर्थ आजको यस संविधान दिवसले सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुमा संविधान प्रतिको आस्था र सम्मान अभिबृद्धि गर्न थप प्रेरणा प्रदान गरोस भन्ने शुभकामना पनि व्यक्त गर्दछु” उहाँले भन्नुभयो ।

सम्बोधनका क्रममा उहाँले संघीयता वर्तमान संविधानको एउटा महत्वपुर्ण उपलब्धि भएको उल्लेख गर्दै नेपाली जनताले पटकपटक ठुलठुला राजनीतिक क्रान्तिहरु सम्पन्न गरेको ,राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना, पञ्चायति ब्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्र सहितको बहुदलिय प्रतिस्र्धात्मक ब्यवस्था हुँदै संघिय लोकतान्त्रिक गणतन्त्रमा आईपुगेको बताउनुभयो । उहाँले प्रदेश तहबाट निर्माण गर्नुपर्ने कानूनको पहिचान गरी हालसम्म ४५ वटा विधेयक प्रदेशसभाबाट पारित गरिसकेको र ३८ वटा प्रमाणीकरण समेत भैसकेकको उल्लेख गर्नुभयो । प्रदेश सरकार अन्तरगत मन्त्रालयहरुदेखि १३ वटै जिल्लामा मन्त्रालय अन्तरगत कार्यालय व्यवस्थापन भई सेवा प्रवाहका कार्य अगाडि बढाइएको बताउदै पौडेलले साझा अधिकार सूचीभित्र रहेका विषयहरुमा कानून निर्माण गर्न नेपाल सरकारसंग समन्वय गरिरहेको उल्लेख गर्नुभयो । प्रदेशवासीहरुको स्वस्फूर्त र उल्लेख्य सहभागिताले कार्यक्रमलाई उल्लासमय तुल्याउन मद्दत गरेको उहाँको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button